पोखरा ११, मंसिर। हङकङको ताई पो जिल्लास्थित आवासीय अपार्टमेन्ट ब्लक्समा भएको भीषण आगलागीमा कम्तीमा ९४ जनाको दुःखद मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्। यस घटनामा करिब ३०० जना अझै बेपत्ता रहेको खबर आएको छ, जसले गर्दा हताहतीको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। बुधबार अपार्टमेन्ट ब्लक्सका आठ भवनमध्ये सातमा आगो फैलिएको थियो। हाल हङकङका नेताले आगो नियन्त्रणमा आएको जानकारी दिएका छन्।
आगलागीको घटनाले हङकङका जनतामा सुरक्षा कमजोरीहरूप्रति व्यापक आक्रोश पैदा गरेको छ। एक स्थानीय बासिन्दाले यो दुर्घटनालाई रोक्न सकिन्थ्यो भन्दै दुःख व्यक्त गरेका छन्। आगलागीको समयमा दुर्घटनास्थलमा कति जना मानिस थिए भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। हालैका तथ्याङ्कहरू अनुसार, यी आठ अपार्टमेन्ट ब्लक्समा ४ हजार ६०० जना मानिस बसोबास गर्दथे। प्रहरीले आगलागी कसरी सुरु भयो भन्नेबारे अनुसन्धान गरिरहेको छ, तर भवनहरूको मर्मत सम्भार चलिरहेको अवस्थामा भवनको बाहिरी भागमा प्रयोग गरिएका सामग्रीहरू अग्निरोधी नभएको कारणले त्यहीबाट आगो द्रुत रूपमा फैलिएको हुन सक्ने अनुमान प्रहरीको छ। भवनको मर्मत सम्भारमा भएको लापरबाही र अग्निरोधी सामाग्रीको प्रयोग नगरिनुले आगलागीका कारण र क्षतिको गम्भीरता बढाएको देखिन्छ। यो भीषण दुर्घटनाले हङकङको आवासीय भवनहरूको सुरक्षा मापदण्ड र मर्मत सम्भारको अवस्थामाथि गम्भीर प्रश्नहरू खडा गरेको छ।































