पोखरा २, कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय विस्तार गरिएको छ। पार्टी विधानको धारा २६ मा भएको व्यवस्था अनुसार कार्यवाहक सभापति डीपी अर्यालले सचिवालयमा चार जना सदस्य मनोनीत गरेका हुन्। सभापतिको मनोनीत गर्ने उक्त निर्णय शनिबार बसेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकमा प्रस्तुत भएको थियो।
सचिवालयमा थप हुने सदस्यहरूमा प्रत्यक्ष निर्वाचित सांसदहरू सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाल रहेका छन्। यी चारै जना गत निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए। पार्टी विधानमा २५ जनासम्मको सचिवालय गठन गर्न सकिने व्यवस्था रहेको र सोही व्यवस्थालाई टेकेर सचिवालय विस्तार गरिएको रास्वपा स्रोतले जानकारी दिएको छ। विधानको व्यवस्था अनुसार, पार्टी सभापतिले आफूसहित निर्वाचित पदाधिकारीहरू, कोषाध्यक्ष, प्रवक्ता र बाँकी सदस्यहरू केन्द्रीय समितिबाट मनोनीत गरी केन्द्रीय समितिमा जानकारी दिनुपर्ने प्रावधान छ। यस विस्तारसँगै रास्वपाको सचिवालय सदस्य संख्या १० बाट बढेर १४ पुगेको छ। आवश्यकता अनुसार, सभापतिले अन्य सदस्यहरू पनि सचिवालयमा थप्नसक्ने रास्वपाका एक नेताले बताए। यस विस्तारले पार्टीको आन्तरिक सांगठनिक संरचनालाई थप बलियो बनाउने विश्वास गरिएको छ।






























