पोखरा ९, असोज। गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि पहिलो पटक बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा पार्टीभित्रको आन्तरिक द्वन्द्व र आगामी दिशाबारे गम्भीर छलफल भएको छ। दुई दिनसम्म चलेको बैठकमा मुख्य गरी चार विषयमा केन्द्रित भएको थियो: सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्केको प्रकरण, पार्टीको पहिलो महाधिवेशन, फागुन २१ गतेको मध्यावधि चुनाव र जेन-जी आन्दोलन।

बैठकको सबैभन्दा ठूलो हिस्सा रवि लामिछानेको नख्खु प्रकरणले ओगटेको थियो। भदौ २४ गते लामिछानेलाई नख्खु कारागारबाट किर्ते कागज बनाएर निकालिएको भन्दै केन्द्रीय सदस्यहरूले चर्को असन्तुष्टि व्यक्त गरेका थिए। गणेश कार्की, मनिष झा, विराजभक्त श्रेष्ठ, शिशिर खनाल र तोसिमा कार्कीलगायतका नेताहरूले यो घटनाले पार्टीको छविमा गम्भीर क्षति पुर्‍याएको भन्दै प्रश्न उठाएका थिए। यसको जवाफमा कार्यवाहक सभापति डीपी अर्यालले कारागार प्रशासन र दुईवटा सुरक्षा निकायका प्रमुखको आग्रहमा सभापतिको ज्यान बचाउनका लागि यस्तो कदम चाल्नुपरेको बताए। उनले रविले कागज नभई नजाने अडान लिएपछि कारागार प्रशासनले नै उक्त किर्ते कागज तयार पारेको दाबी गरे। यद्यपि, उनले परिस्थितिजन्य कारणले गल्ती भएको स्वीकार गरे।

कार्यवाहक सभापति अर्यालको यस प्रष्टिकरणमा अधिकांश नेताहरू सहमत हुन सकेनन्। उनीहरूले किर्ते कागज बनाउने काममा अर्याल नै संलग्न भएको हुन सक्ने शंका व्यक्त गर्दै यस विषयमा छानबिन गर्न विशेष कार्यदल गठन गर्ने निर्णयमा पुगेका छन्। केही नेताहरूले अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनलाई कार्यवाहक सभापतिको जिम्मेवारीबाट हटाएर अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग समेत राखेका छन्। यस प्रकरणले जेन-जी आन्दोलनको क्रममा रास्वपालाई समेत विवादमा तानेको उनीहरूको भनाइ छ।

बैठकमा पार्टीको पहिलो महाधिवेशनबारे पनि लामो बहस भयो। फागुन २१ मा चुनावको मिति घोषणा भएपछि महाधिवेशन अगाडि गर्ने वा पछाडि भन्नेमा नेताहरू विभाजित भएका थिए। धेरै नेताहरूले माघ महिनाभित्रै महाधिवेशन सम्पन्न गरेर मात्र चुनावमा जानुपर्नेमा जोड दिएका थिए। उनीहरूले महाधिवेशन नगरी चुनावमा जाँदा पार्टीले राम्रो नतिजा ल्याउन नसक्ने र कुन अनुहार लिएर जाने भन्ने प्रश्न पनि उठाएका थिए। यता, लामिछाने निकट नेताहरूले भने विस्तारित बैठकबाटै चुनावी एजेन्डा तय गरी अगाडि बढ्नुपर्ने मत राखे। महाधिवेशनको मितिबारे निर्णय हुन नसकेपछि पार्टीले कात्तिक १४ र १५ गते विस्तारित बैठक बोलाएको छ।

नेतृत्व परिवर्तनको विषय पनि बैठकको प्रमुख एजेन्डा बन्यो। यदि महाधिवेशन समयमै हुन नसके नेतृत्व परिवर्तन गरेर जानुपर्ने माग एक समूहले उठाएको छ। कोशी र मधेश प्रदेशका सभापतिहरूले समेत लामिछानेको विकल्प खोजेर पार्टीलाई गतिशील बनाउनुपर्ने आवाज उठाएका छन्। पार्टीलाई वडा सदस्य पनि जित्न नसक्ने नेतृत्वले अगाडि बढाउन नसक्ने भन्दै वर्तमान कार्यवाहक सभापति र महामन्त्रीमाथि प्रश्न उठाइएको थियो। स्वर्णिम वाग्लेलाई सभापति बनाएर चुनावमा जानुपर्ने समेत प्रस्ताव आएको थियो।

यसैबीच, जेन-जी आन्दोलनमा रास्वपाको भूमिकाबारे पनि समीक्षा गरिएको थियो। नेताहरूले वैकल्पिक पार्टीको रूपमा जेन-जीले उठाएका मुद्दाहरू रास्वपाले उठाउन नसकेको भन्दै आलोचना गरेका थिए। उनीहरूले अब व्यक्तिकेन्द्रित राजनीति छाडेर पार्टीलाई एजेन्डा र संगठन विस्तारमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0