पोखरा २२, भाद्र। पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले जेन-जी युवाको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको कडा शब्दमा निन्दा गरेकी छन्। सिभिल अस्पतालमा घाइतेहरूको अवस्था देखेर आफू स्तब्ध भएको बताउँदै उनले कुनै पनि सद्दे मानिसले यस्तो क्रुरता अपनाउन नसक्ने बताएकी छन्। उनले भनिन्, “गरिखान त दिएनन् नै, भएको सन्तानलाई पनि कोखबाट हरण गरे।” उनले यस्तो क्रुरता उत्तर कोरियामा पनि नभएको हुन सक्ने बताएकी छन्। कार्कीका अनुसार, यो हदसम्मको हिंसा र अपराध कुनै क्रुर र हिंस्रक मानसिकता भएको मानिसको निर्देशनपछि मात्रै सम्भव हुन्छ। उनले शासकहरूमा सत्ता र पैसाको दम्भ देखिएको र सोही दम्भका कारण निर्दोष युवाहरूमाथि यस्तो दमन भएको आरोप लगाएकी छन्।

न्याय क्षेत्रको उच्च पदमा रहेर काम गरिसकेकी कार्कीले भीड नियन्त्रणका लागि लाठीचार्ज, अश्रुग्यास र पानीको फोहोरा जस्ता अनेक तरिका हुँदाहुँदै पनि टाउको र छातीमै ताकेर गोली हान्नु अमानवीय भएको बताएकी छन्। उनले ती युवाहरू आतंककारी नभई हाम्रै देशका बालबालिका भएको उल्लेख गर्दै संयमता गुमाउने सरकारलाई सत्तामा बस्ने कुनै नैतिक अधिकार नभएको बताएकी छन्। उनले युवाहरूलाई भेटेर अब अत्याचार सहन नहुने तर संयमित र आत्मबल नगुमाउन आग्रह गरेकी छन्। उनले थपिन्, “यो बेथिति र भ्रष्टाचारलाई गलहत्याउनुपर्छ।” उनले दोषीमाथि गम्भीरतापूर्वक छानबिन गरी कानुनको कठघरामा उभ्याउनुपर्ने मागसमेत गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0