पोखरा २२, भाद्र। संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालय (OHCHR) ले नेपालमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेन-जी युवाहरूमाथि राज्यले गरेको हिंसाको छिटो र पारदर्शी छानबिनको माग गरेको छ। सोमबार उच्च आयुक्तको कार्यालयकी प्रवक्ता रविना शाम्दासानीले यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुरक्षा निकायले अनावश्यक र अत्यधिक बल प्रयोग गरेको आरोप लागेको बताएकी छिन्। उनले सरकारलाई यस विषयमा तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेकी छन्।
प्रवक्ता शाम्दासानीले नेपालमा प्रदर्शनकारीहरूको हत्या र घाइते भएको घटनाबाट राष्ट्रसंघ स्तब्ध भएको बताइन्। उनले भनिन्, “हामी नेपालमा आज प्रदर्शनकारीहरूको हत्या भएको तथा घाइते भएको घटनाबाट स्तब्ध भएका छौँ र छिटो तथा पारदर्शी छानबिनको माग गर्दछौँ ।” उनले भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा युवाहरूले आयोजना गरेका प्रदर्शनमा सुरक्षा निकायले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बल प्रयोग गरेको गम्भीर आरोपहरू प्राप्त भएको जानकारी दिइन्।
उनले सबै सुरक्षा निकाय र कानुन पालना गराउने अधिकारीहरूलाई बल र हातहतियार प्रयोगसम्बन्धी आधारभूत सिद्धान्तहरूको पालना गर्न आग्रह गरेकी छन्। लोकतान्त्रिक मुलुकमा नागरिकको शान्तिपूर्ण भेला हुन पाउने तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान गर्न मात्र नभई त्यसको सुनिश्चितताका लागि समेत उनले जोड दिएकी छिन्। नेपालमा जीवन्त लोकतन्त्र र सक्रिय नागरिक समाज रहेको उल्लेख गर्दै प्रवक्ता शाम्दासानीले युवाहरूको चिन्तालाई सम्बोधन गर्न संवाद नै सर्वोत्तम माध्यम भएको सुझाएकी छिन्।
उच्च आयुक्तको कार्यालयले सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी सरकारी निर्णयमा पुनर्विचार गर्न पनि आग्रह गरेको छ। उनले सरकारलाई दमनको बाटो छाडेर शान्तिपूर्ण समाधानका लागि अघि बढ्न प्रोत्साहित गरेकी छन्। यो घटनाले नेपालको मानव अधिकार र लोकतान्त्रिक मूल्यमान्यतामाथि गम्भीर प्रश्न खडा गरेको छ, जसको तत्काल र प्रभावकारी समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ।





























