पोखरा, १ भाद्र । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा आज बिहान सुक्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार, माथिबाट चट्टानसहितको पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो हटाउनका लागि दुईवटा ‘जेसिभी’ प्रयोग गरी काम भइरहेको छ । यद्यपि, चट्टान खस्ने क्रम नरोकिएकाले सडक पूर्ण रूपमा खुल्न अझै केही समय लाग्ने अनुमान गरिएको छ ।

सोही पहिरोमा परेर एक जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००३ प ३८१६ नम्बरको स्कुटरमा माथिबाट खसेको ढुङ्गा लागेर चितवन, रत्ननगर नगरपालिका–३ का सन्दीप रिजाल घाइते भएका हुन् । उनको अवस्था मध्यम रहेको र उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि गन्तव्यतर्फ हिँडेका सवारीसाधनहरू बाटोमै रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0