पोखरा, २८ श्रावण । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा तराई आसपासमा अवस्थित रहेकाले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने प्रक्षेपण गरेको छ । यसैले, देशका धेरैजसो भूभागमा भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरेको छ ।
महाशाखाका अनुसार अहिले देशभर सामान्यतया बदली भएको छ । कोशी, मधेश, बागमती प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । विशेषगरी कोशी प्रदेशका केही ठाउँमा भने भारी वर्षा पनि भइरहेको छ ।
आज दिउँसो देशभर पूर्णतया बदली रहने र अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग लगायत देशभर पूर्णतया बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका धेरै स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । यसैगरी, सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा भारीदेखि धेरै भारी र लुम्बिनी प्रदेशको तराईको भूभागको केही स्थान, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी र खोलाहरूको जलस्तर बढ्न सक्ने र यातायात सेवा प्रभावित हुन सक्ने भन्दै सबैलाई आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा जुट्न आग्रह गरेको छ ।





























