पोखरा, ३ साउन। नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीको आगामी नेतृत्व पनि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नै गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा आफ्नो धारणा राख्दै बस्नेतले ओलीको विकल्प अहिले नदेखिएको र पार्टीलाई एकीकृत ढंगले अगाडि बढाउन फेरि पनि ओलीकै नेतृत्व अपरिहार्य भएको तर्क गरे।

बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयमा पनि स्पष्ट धारणा राख्दै उक्त विषय केन्द्रीय कमिटीको निर्णयबाट मात्र टुंग्याउनुपर्ने बताएका छन्। उनले पूर्वराष्ट्रपतिको संवैधानिक हैसियतलाई ध्यानमा राखेर प्रक्रिया अपनाउनुपर्ने भन्दै लहडमा निर्णय लिने प्रवृत्तिप्रति आपत्ति जनाए।

उनको भनाइमा, राष्ट्रपतिको गरिमा लिएर पार्टी पंक्तिमा फर्किँदा नैतिक र प्रक्रियागत चुक हुन सक्दैन। लोकतान्त्रिक प्रणाली र आन्तरिक जनवादको मर्मअनुसार विधिसम्मत रूपमा मात्रै जिम्मेवारी चयन गर्नुपर्ने कुरामा उनले जोड दिए।

एमालेभित्र नेतृत्वको विपक्षमा उभिनेहरूलाई असक्षम बनाउने प्रवृत्तिप्रति पनि उनले चासो व्यक्त गरे। उनले गुटबन्दीको नाममा पार्टी कमजोर बनाउने प्रयास तत्काल रोकिनुपर्ने धारणा राख्दै भण्डारीलाई वैकल्पिक नेताको रूपमा प्रस्तुत गर्ने नाममा अनावश्यक बहस नबढाउन आग्रह गरे।

बस्नेतले पार्टीको विधानलाई टेकेर नेता हटाउने वा परिवर्तन गर्ने प्रक्रियालाई विधि र मापदण्डको आधारमा अघि बढाउनुपर्ने उल्लेख गर्दै, ७० वर्षे उमेर सीमा र २ वर्षे कार्यकालको मापदण्डमा राजनीति नगर्न पनि चेतावनी दिएका छन्। “विधि र क्षमताका आधारमा नेता छान्ने संस्कार विकास गर्नुपर्ने बेला आएको छ,” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0