पोखरा, २८ असार। जनमत पार्टीका निलम्बित पूर्वकोषाध्यक्ष सुरेन्द्रनारायण यादवमाथि थप एक ठगीको मुद्दा दायर भएको छ। यसअघि पार्टीको कार्यालय भवन खरिदका लागि संकलन गरिएको रकम ठगी गरेको अभियोगमा मुद्दा खेपिरहेका यादवविरुद्ध यसपटक पार्टीबाहिरका एक व्यक्तिले ललितपुर जिल्ला अदालतमा ठगीसम्बन्धी मुद्दा दायर गरेका हुन्।

उक्त मुद्दामा अदालतले यादवविरुद्ध एक लाख २५ हजार रुपैयाँ धरौटी माग गरेको थियो। यादवले धरौटी रकम बुझाएपछि यही असार २६ गते रिहा भएका छन्। यसअघि यादवलाई सप्तरीबाट ७ वैशाखमा प्रहरीले पक्राउ गरेको थियो।

जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवको जाहेरीका आधारमा सुरेन्द्रनारायण यादव र उनकी श्रीमती ललिताकुमारी यादवविरुद्ध १ करोड ८५ लाख १ हजार रुपैयाँ बिगो असुल गर्नुपर्ने मागसहित ठगी मुद्दा दर्ता भएको थियो।

पार्टीभित्रै आर्थिक अनियमितता गरेको आरोपमा आलोचित हुँदै आएका यादवमाथि पुनः बाह्य पक्षबाट समेत कानुनी कारबाही सुरु भएसँगै उनको राजनीतिक भविष्यमाथि प्रश्न उठेको छ। पार्टीले उनलाई पहिल्यै निलम्बन गरिसकेको छ भने अब कानुनी प्रक्रियाले थप घेराबन्दी गर्ने संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0