पोखरा, १८ असार। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले आफूलाई लक्षित गर्दै पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले लगाएको आरोपलाई ‘फोहोर’ को संज्ञा दिँदै ती आरोप खारेज गरेका छन्। बस्नेतले टेरामाक्स प्रकरणसँग जोड्दै थापामाथि गम्भीर र अमर्यादित आरोप लगाएका थिए। त्यसको प्रतिवादमा थापाले आफूले राजनीति र सभ्यताको सीमा ननाघ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैठकमा बोलेका थापाले भने, ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्न। बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ। आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु – फोहोर चलाए आफैँ फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु।’ उनले कुनै आरोपको खण्डन गर्नुको सट्टा त्यसलाई राजनीतिक मर्यादा र व्यक्तिगत शालीनताको आधारमा खारेज गर्ने रणनीति अपनाएका छन्।

थापाले सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै आफ्नो अनुपस्थितिमा बैठकको मर्यादा तोडिएकोप्रति गुनासो गरेका छन्। तरुण दलका अनशनरत कार्यकर्ताहरूको माग सम्बोधन गर्न वार्तामा व्यस्त रहेका बेला केन्द्रीय बैठकमा धम्कीपूर्ण भाषा र हुंकार मिश्रित व्यवहार प्रदर्शन गरिएको थापाको आरोप छ।

उनले स्पष्ट रूपमा भने, ‘म वार्तामा थिएँ, बैठकमा केन्द्रीय सदस्यबाट हुंकारसहित धम्की दिइयो रे। त्यो नैतिक पतन हो।’ थापाले यस्तो घटनाले पार्टीभित्रको अनुशासन र आन्तरिक संवाद संस्कृतिमा गम्भीर प्रश्न उठाएको तर्क गरेका छन्।

टेरामाक्स प्रकरणका कारण हालै मात्र धरौटीमा रिहा भएका बस्नेतले थापाप्रति लक्षित गर्दै असन्तुलित अभिव्यक्ति दिएका थिए, जसप्रति थापाले आपत्ति जनाउँदै राजनीतिमा संयम र मर्यादाको आवश्यकता औंल्याएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक पछिल्लो समय आन्तरिक आरोप–प्रत्यारोपको अखडा बन्न थालेको देखिन्छ। थापाले भनेजस्तै, राजनीतिमा स्वाभाविक मतभेद भए पनि भाषा र व्यवहारमा अनुशासन कायम राख्न नसक्दा पार्टीको छविमा असर पर्ने संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0