पोखरा २२, माघ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले सबैभन्दा धेरै सिट जितेर पहिलो शक्ति बन्ने दाबी गरेका छन्। आज बिहान करिब एक घण्टा चलेको नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले कसैसँग पनि चुनावी गठबन्धन वा तालमेल नगरी मैदानमा उत्रिने प्रष्ट पारे। उनले जनताबाट तिरस्कृत र अस्वीकृत भइसकेका शक्तिहरूसँग कुनै पनि हालतमा सहकार्य नगर्ने अडान राख्दै नेकपा एक्लै चुनाव लडेर देशको ठूलो पार्टी बन्ने जिकिर गरे।
बैठकमा सहभागी नेताहरूका अनुसार प्रचण्डले प्रत्यक्षतर्फ नेकपाले एमालेको भन्दा बढी सिट जित्ने निश्चित भइसकेको र विभिन्न क्षेत्रबाट पार्टीलाई सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताएका थिए। सोही अवसरमा सहसंयोजक माधव कुमार नेपालले पनि राजनीतिमा सम्वाद र छलफल हुनु स्वाभाविक भए तापनि निर्वाचनमा भने पार्टी एक्लै उत्साहका साथ सहभागी हुने स्पष्ट पारे। बिहान ८ बजे सुरु भएको उक्त बैठकमा पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई चुनावी तयारीमा जुट्न र आधिकारिक उम्मेदवारहरूलाई जिताउन विशेष निर्देशन दिइएको थियो।
































