पोखरा, २१ जेठ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक नीति र कर विधेयकमाथि विश्वप्रसिद्ध उद्यमी एलन मस्कले कडा आलोचना गरेका छन्। निर्वाचन अभियानदेखि लिएर केही समयअघिसम्म ट्रम्पका सहयोगीका रूपमा रहेका मस्क अब भने ट्रम्पकै नीति विरुद्ध खुला रूपमा बोल्न थालेका छन्।
हालै सामाजिक सञ्जालमार्फत सार्वजनिक मन्तव्य दिँदै मस्कले ट्रम्पले प्रस्तुत गरेको कर र खर्चसम्बन्धी विधेयकलाई ‘घिनलाग्दो’ र ‘घृणित’ भनेर सम्बोधन गरेका छन्। उक्त विधेयकमा सरकारलाई ठूलो परिमाणको कर छुट र खर्चका लागि अधिकार दिइएको छ, जसमा रक्षाक्षेत्रका लागि अपार रकम छुट्याइएको छ भने राज्यले आवश्यक परे थप रकम संकलन गर्न सक्ने कानुनी अधिकार पनि समावेश गरिएको छ। मस्कको भनाइमा, यस्तो विधेयकलाई समर्थन गर्नु नै लाजमर्दो विषय हो।
टेस्ला र स्पेसएक्सका संस्थापक मस्क ट्रम्प प्रशासनमा खर्च कटौतीका लागि बनाइएको निकायमा १२९ दिन सदस्यका रूपमा क्रियाशील रहेका थिए। तर, मे ३१ मा उक्त भूमिका परित्याग गर्दै उनले ट्रम्प प्रशासनसँगको औपचारिक सम्बन्ध अन्त्य गरेका थिए। प्रशासन छाडेपछि उनले पहिलो पटक सार्वजनिकरूपमा यस्तो तीव्र आलोचना गरेका हुन्।
दक्षिण अफ्रिकामा जन्मेका अर्बपति मस्कले आलोचना गर्दै पनि सकारात्मक पक्षप्रति समर्थन जनाउने संकेत दिएका छन्। उनले उल्लेख गरेका छन् कि राम्रो उद्देश्य र कार्यहरूमा आफू सधैं साथ दिन तयार छन्। तर, कर छुट र खर्चका नाममा सार्वजनिक सम्पत्ति दुरुपयोग हुने विधेयकप्रति भने उनले आपत्ति जनाएका छन्।
एलन मस्कजस्ता प्रभावशाली व्यक्तिको यस्तो खुला आलोचनाले ट्रम्प प्रशासनमाथि थप दबाब सिर्जना गरेको छ भने अमेरिकी कर नीति र सार्वजनिक खर्चबारे बहस झनै चर्किएको देखिन्छ।































