पोखरा २४, फागुन । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी नतिजाले नेपाली राजनीतिको एउटा अध्यायलाई पूर्णविराम लगाइदिएको छ। लामो समयसम्म सत्ता र शक्तिको केन्द्रमा रहेका नेपाली कांग्रेसका पूर्व उपसभापति एवं ७२ वर्षीय पुराना नेता विजयकुमार गच्छदारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अशोककुमार चौधरीले भारी मतान्तरले पराजित गरेका छन्। अन्तिम मतपरिणाम अनुसार चौधरी ४७ हजार ४२१ मत ल्याएर विजयी हुँदा गच्छदारले २० हजार ५०१ मतमा चित्त बुझाउनुपरेको छ। यो हारसँगै २६ हजार ९२० को फराकिलो मतान्तरले गच्छदारको करिब पाँच दशक लामो संसदीय राजनीतिक प्रभावलाई रास्वपाको ‘परिवर्तन’ को लहरले निस्तेज पारिदिएको छ। अघिल्लो पटक सोही क्षेत्रबाट निर्वाचित नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी १५ हजार ८३ मतसहित तेस्रो स्थानमा खुम्चिएकी छन्।

गच्छदारको यो पराजय केवल एक चुनावको हार मात्र नभई उनको ‘साम, दाम, दण्ड, भेद’ को राजनीतिक फर्मुलाको असफलता हो। विद्यार्थी राजनीतिबाट उदाएर १२ पटकसम्म मन्त्री र पटक-पटक उपप्रधानमन्त्री भइसकेका गच्छदारका लागि सुनसरी-३ लामो समयदेखि सुरक्षित ‘भोट बैंक’ मानिन्थ्यो। विशेषगरी थारु समुदायको घना बस्तीलाई आधार बनाएर उनले दशकौँसम्म आफ्नो वर्चस्व कायम राखेका थिए। तर, यसपटक सोही थारु बस्तीका मतदाताले विकास र सुशासनको माग गर्दै रास्वपाको घण्टीमा मतदान गरेपछि गच्छदारको पुरानो रणनीति काम लागेन। स्थानीयवासीहरूले गच्छदारले पटक-पटक सत्ताको स्वाद लिए पनि आफ्नो क्षेत्रलाई विकासमा पछाडि पारेको, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत समस्या समाधानमा बेवास्ता गरेको गुनासो गर्दै आएका थिए।

चुनावको मुखमा आफ्नै भतिजा वेदनारायण गच्छदारसँगको विवाद र ललिता निवास जग्गा प्रकरणले पनि उनको राजनीतिक साखमा धक्का पुर्‍याएको थियो। लामो राजनीतिक यात्रामा आठौँ पटक प्रतिस्पर्धामा उत्रिएका गच्छदारको यो दोस्रो हार हो। जनताको बढ्दो अपेक्षा र रास्वपाको उदीयमान लहरका अगाडि गच्छदारको अनुभवले यसपटक हार बेहोरेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, पुराना दलहरूले जनताको भावना बुझ्न नसक्दा र विकासको मुद्दालाई ओझेलमा पार्दा यस्तो नतिजा आएको हो। सुनसरीका मतदाताले गच्छदारलाई दिएको यो जनादेशले राजनीतिमा नयाँ पुस्ताको प्रवेश र परम्परागत शक्तिको अवसानलाई स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0