पोखरा २८, माघ। नेपाली राजनीतिमा विपक्षीहरूले नेताहरूको खेदो खन्न विभिन्न उपनाम र लाञ्छना लगाउने परम्परा नौलो होइन । विगतमा नेकपा एमालेका कार्यकर्ताहरूलाई लक्षित गरी विपक्षीहरूले प्रयोग गर्ने ‘झोले’ शब्दलाई एमाले नेतृत्वले नै ‘म झोले हुँ’ भन्दै सकारात्मक अभियानमा बदलेको थियो । नेतृत्वको हरेक कदमलाई बिना आलोचना स्वीकार गर्ने प्रवृत्तिलाई व्यङ्ग्य गर्दै प्रयोग गरिएको सो शब्दलाई एमालेका एक पक्षले गौरवको विषय बनाउन खोजे पनि पार्टीभित्रै सबैले त्यसलाई सहजै स्वीकार गरेको भने देखिँदैनथ्यो । तर, सोही शैलीलाई पछ्याउँदै अहिले नेपाली कांग्रेसका सभापति गगन थापाको टोलीले पनि उनीमाथि लाग्दै आएको ‘बाख्रा काण्ड’को नकारात्मक टिप्पणीलाई नयाँ ढङ्गले चिर्ने प्रयास सुरु गरेको छ ।

लामो समयदेखि सामाजिक सञ्जालमा गगन थापामाथि बाख्रा पालनमा भ्रष्टाचार वा अनियमितता गरेको भन्दै ‘बाख्रा’ उपनाम दिएर प्रहार गरिँदै आएको छ । यद्यपि, यो विषय कुनै पनि अदालतमा विचाराधीन छैन र सभापति थापाले यसअघि नै विभिन्न मञ्चहरूबाट यसको स्पष्टीकरण दिइसकेका छन् । आफ्ना विरुद्ध भइरहेका यस्ता नकारात्मक टीकाटिप्पणीलाई निस्तेज पार्न र युवा पुस्तामाझ आफ्नो एजेन्डा पुर्‍याउन थापाको टोलीले ‘मटन डट वर्ल्ड’ नामक वेबसाइट सञ्चालनमा ल्याएको छ । एमालेले ‘झोले’ शब्दावलीलाई जसरी प्रतिरक्षात्मक हतियार बनाएको थियो, ठ्याक्कै त्यही शैलीमा थापाको टोलीले पनि नकारात्मक प्रहारलाई नै ब्रान्डिङ गर्ने प्रयास गरेको देखिन्छ ।

वेबसाइटमा ‘नयाँ नेपालका लागि गगन थापा’ भन्ने मुख्य नाराका साथ र्‍याप शैलीको गीत र थापाको जीवनी समावेश गरिएको छ । विशेषगरी ‘बाख्रा काण्ड’को वास्तविकता बुझाउन तथ्य र प्रमाणहरू प्रस्तुत गरिएको उक्त साइटमा ‘मटनफेस्टो’ मार्फत आगामी योजनाहरू सार्वजनिक गर्ने तयारी गरिएको छ । रोचक कुरा त के छ भने, विपक्षीले व्यङ्ग्य स्वरूप प्रयोग गर्ने बाख्रा अर्थात् ‘गोट’ (Goat) लाई थापाको टोलीले ‘ग्रेटेस्ट अफ अल टाइम’ (Greatest of All Time) भन्दै सकारात्मक अर्थमा व्याख्या गरेको छ । वेबसाइटको अन्त्यमा राखिएको एउटा बटन थिच्दा बाख्रा कराएको आवाजसहित स्वस्तिक चिन्ह देखिनुले यो अभियान कतिसम्म व्यङ्ग्यात्मक र रणनीतिक छ भन्ने स्पष्ट पार्छ । यसरी नेपाली राजनीतिमा पछिल्लो समय नकारात्मक टिप्पणीलाई नै अभियानको रूपमा बदल्ने नयाँ प्रविधिको विकास हुँदै गएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0