पोखरा १४, माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी बढेको छ। यस क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १५ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन्, जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३६ वर्षीय अर्जुन खनाल सबैभन्दा कम उमेरका उम्मेदवार बनेका छन्। खनालको राजनीतिक पृष्ठभूमि र वैचारिक यात्रा निकै रोचक रहेको छ। उनी कुनै समय कम्युनिस्ट आन्दोलनमा आबद्ध थिए, तर पछिल्लो समय उनी सनातन हिन्दु राज्य र राजसंस्थाको एजेन्डा बोकेर राप्रपामार्फत सक्रिय भएका हुन्। उनी हाल राप्रपाको केन्द्रीय सदस्य तथा पर्यटन विभाग सदस्यका रूपमा कार्यरत छन्।
खनालको वैचारिक रूपान्तरणको शृङ्खला विद्यार्थी राजनीतिदेखि नै सुरु भएको थियो। हिन्दु राज्यको वकालत गर्दै उनी ब्राह्मण विद्यार्थी समाजको केन्द्रीय संयोजक बनेका थिए। जातीय राज्यको बहसको चर्को विरोध गर्दै उनी अखण्ड नेपाल पार्टी र विवेकशील साझा हुँदै अन्ततः राप्रपाको ‘पृथ्वीपथ’ मा समाहित भएका हुन्। खनाल केवल एक राजनीतिकर्मी मात्र नभएर एक सफल पर्यटन व्यवसायी पनि हुन्। अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले पर्यटन व्यवसायमार्फत करिब २०० जनालाई रोजगारी दिएका छन्। उनले आफ्नो व्यावसायिक अनुभवलाई देशको आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य राखेका छन् र पर्यटनलाई नै समृद्धिको मुख्य आधार मान्दछन्।
निर्वाचनमा आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्दै खनालले वर्तमान गणतान्त्रिक व्यवस्था र यसका आधारस्तम्भहरू धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र लाई पूर्ण रूपमा उल्टाउनुपर्ने धारणा राखेका छन्। “म बाहेक यस क्षेत्रका अन्य सबै उम्मेदवारहरू गणतन्त्रवादी हुन्, जसले देशलाई धर्मनिरपेक्षता र संघीयताको भार बोकाएका छन्,” उनले भनेका छन्। खनालले आफ्नो घोषणापत्रमा संवैधानिक राजसंस्था, बौद्ध-किरात सहितको हिन्दु अधिराज्य, र संघीयता खारेज गरी बलियो केन्द्र तथा अधिकारसम्पन्न स्थानीय तहको अवधारणा अघि सारेका छन्। साथै, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, रोजगारीको सुनिश्चितता, र शिक्षा तथा स्वास्थ्य क्षेत्रको आमूल पुनर्संरचना उनको चुनावी एजेन्डाका प्रमुख बुँदाहरू रहेका छन्।































