पोखरा १४, माघ। मजदुर आन्दोलनको जगबाट उठेर राष्ट्रिय राजनीतिमा आफ्नो बलियो पहिचान बनाउन सफल नेकपा (एमाले) का नेता दामोदर पौडेल ‘बैरागी’ यतिबेला पुनः कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्। ५९ वर्षीय पौडेलले आफ्नो जीवनको चार दशकभन्दा लामो समय श्रमजीवी वर्ग, मजदुर र किसानहरूको हकहितका लागि खर्चिएका छन्। २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई राजनीतिमा प्रवेश गरेका उनी २०३९ सालमा तत्कालीन नेकपा (माले) मार्फत औपचारिक रूपमा पार्टी राजनीतिमा सक्रिय भएका हुन्। पञ्चायती व्यवस्था विरुद्धको संघर्षका क्रममा २०४० देखि २०४६ सालसम्म अर्ध-भूमिगत जीवन बिताएका पौडेलले प्रजातन्त्र बहालीका लागि भएका विभिन्न आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

बैरागीको राजनीतिक परिचय विशेषगरी मजदुर नेताका रूपमा स्थापित छ। उनले २०४५ देखि २०५५ सालसम्म १० वर्षसम्म नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मार्फत मजदुर आन्दोलनको सफल नेतृत्व गरेका थिए। यही क्रममा उनले एक कुशल संगठक र जुझारु नेताको छवि बनाए। पार्टी संगठनमा पनि उत्तिकै सक्रिय उनी २०५३ मा एमाले कास्कीको जिल्ला सदस्य बनेका थिए भने संगठन विभाग प्रमुख हुँदै २०७० देखि २०७६ सम्म जिल्ला कमिटी सचिवको जिम्मेवारी समेत सम्हालिसकेका छन्। राजनीतिक यात्राका क्रममा उनले शारीरिक र मानसिक यातनाको ठूलो शृङ्खला सामना गरेका छन्। २०४२ र २०४६ सालमा पञ्चहरूसँगको झडपमा गम्भीर घाइते भएका पौडेललाई २०६१ सालमा शाही सेनाले नियन्त्रणमा लिएर बंकरमा राखी चरम यातना दिएको थियो।

२०७९ सालको निर्वाचनमा कास्की ३ बाटै निर्वाचित भएका पौडेल अहिले सोही क्षेत्रका जनताको विश्वास पुनः जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन्। यसपटकको निर्वाचनमा उनले कास्कीको पर्यटन र कृषिको आधुनिकीकरणलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन्। अन्नपूर्ण बेस क्याम्प, मर्दी हिमाल र फेवाताल जस्ता पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गरी पर्यटकको बसाइ लम्ब्याउने र सुकुम्वासी समस्याको स्थायी समाधान गर्ने उनको प्रतिबद्धता रहेको छ। मजदुर, युवा र महिलाहरूको उद्यमशीलतामा जोड दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा गर्न आफू प्रतिबद्ध रहेको उनले बताएका छन्। भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्ष भएर काम गरेको अनुभवले उनलाई सुकुम्वासी र भूमिहीनका समस्या समाधान गर्न थप मद्दत पुग्ने विश्वास मतदाताले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0