पोखरा ११, पौष। नेपाली राजनीतिमा नयाँ र वैकल्पिक शक्तिहरूबीच तीव्र रूपमा भइरहेको ध्रुवीकरणले राजनीतिशास्त्रको भाषामा ‘रियल पोलिटिक’ को अभ्यासलाई सतहमा ल्याएको छ। आगामी निर्वाचनमा परम्परागत तीन ठूला दलहरूलाई पराजित गर्न ‘जसरी पनि’ एउटै छानामुनि आउनुपर्छ भन्ने रणनीतिमा नयाँ शक्तिहरू केन्द्रित देखिएका छन्। अन्तर्राष्ट्रिय राजनीतिमा जस्तै अहिले नेपालको राष्ट्रिय राजनीतिमा पनि ‘गठबन्धन निर्माण’ को चरम अभ्यास भइरहेको छ, जसले पुराना दलहरूको सिन्डिकेट तोड्ने लक्ष्य राखेको छ। यद्यपि, यो ध्रुवीकरण केवल सत्ताको भागबन्डा र चुनावी गणितमा मात्र सीमित हुने हो कि भन्ने चिन्ता पनि उत्तिकै बढेको छ। राजनीतिशास्त्रीहरूका अनुसार नयाँ शक्तिहरूसँग पुराना दलहरूप्रतिको वितृष्णालाई भजाउने सामर्थ्य त छ, तर उनीहरूलाई एउटै सूत्रमा बाँध्ने साझा विचार र दीर्घकालीन कार्ययोजनाको भने अभाव खड्किएको छ।

पुराना दलहरू कांग्रेस, एमाले र माओवादीमा भ्रष्टाचार र नातावाद जस्ता विकृतिहरू उत्कर्षमा पुगेका कारण मतदाताहरू विकल्पको खोजीमा छन्। तर, पुराना दलहरूसँग विचारधारा, बलियो संगठन र राजनीतिक दर्शनको एउटा आधार छ, जसले उनीहरूको दिगोपनालाई टेवा दिन्छ। नयाँ शक्तिहरूमा भने अहिले ‘स्ट्रङ म्यान पोलिटिक्स’ अर्थात् शक्तिशाली पुरुष पात्रको पछि लाग्ने प्रवृत्ति हावी देखिएको छ, जुन संस्थागत लोकतन्त्रका लागि जोखिमपूर्ण मानिन्छ। रवि लामिछाने, बालेन शाह वा कुलमान घिसिङ जस्ता पात्रहरूको पछाडि देखिने जनलहर आवेगमा आधारित हुनसक्ने र यसले चुनावपछिको शासन सञ्चालनमा स्पष्टता नदिने विश्लेषण गरिएको छ। बहुदलीय लोकतन्त्रमा चुनाव जित्नु मात्र ठूलो कुरा नभई सरकार चलाउन भिजन, मिसन र स्पष्ट नीतिको आवश्यकता पर्दछ, जुन विज्ञान र कला दुवै हो।

अहिलेको सन्दर्भमा जेनजी अगुवाहरूले पनि केवल एकता मात्र नभएर सहकार्यको सैद्धान्तिक आधार खोज्न थालेका छन्। यदि नयाँ शक्तिहरू साझा राजनीतिक दृष्टिकोण बिना सत्तामा पुगे भने मुलुकमा पुनः अस्थिरता निम्तने र बहुदलीय लोकतन्त्रकै उपहास हुने खतरा रहन्छ। राजनीतिलाई कम्पनी जस्तो नाफा कमाउने थलो नभई सेवा प्रदान गर्ने माध्यम बनाउनुपर्ने चुनौती नयाँ शक्तिहरू सामू छ। त्यसैले, साच्चिकै विकल्प दिने हो भने विचार, संगठन र नेतृत्वमा परिपक्वता देखाउँदै सेवाको भावनासहित एउटा स्पष्ट वैचारिक सूत्रमा बाँधिनु अनिवार्य देखिएको छ। अन्यथा, तात्कालिक आवेगले पुराना दललाई सबक त सिकाउला, तर दीर्घकालीन रूपमा मुलुकको भार र अस्थिरता झनै बढ्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0