पोखरा, ११ असोज। नेपाली राष्ट्रिय क्रिकेट टिम र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल आज (शनिबार) हुँदैछ। यो बहुप्रतीक्षित भिडन्त यूएईको सारजहा क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ ८:१५ बजे सुरु हुनेछ। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा नेपाली टोलीले बलियो वेस्ट इन्डिजको सामना गर्नेछ। सिरिज जित्ने लक्ष्यका साथ नेपाली टोली यूएई पुगेको कप्तान पौडेलले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताएका थिए। “यो सिरिज जित्न हामी यूएई आएका हौँ,” उनले भने। यो सिरिज दुई टोलीबीचको पहिलो अन्तर्राष्ट्रिय टी-२० सिरिज हो र यसले नेपाली क्रिकेटको लागि नयाँ इतिहास रच्नेछ।

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, र साहब आलम समेटिएका छन्। वेस्ट इन्डिजको टोलीमा भने अकिल होसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगेस्ट, नविन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर जस्ता अनुभवी र युवा खेलाडीहरूको मिश्रण छ। नेपालका लागि यो सिरिज आफ्नो क्षमता प्रमाणित गर्ने र विश्व क्रिकेटमा आफ्नो उपस्थिति बलियो बनाउने एउटा उत्कृष्ट अवसर हुनेछ। सिरिजका अन्य दुई खेल असोज १३ र १४ गते हुनेछन्, जसले गर्दा यस सिरिजको महत्त्व अझ बढेको छ। दुवै टोलीले पत्रकार सम्मेलनमा सिरिज जित्ने दाबी गरेकाले खेलहरू अत्यन्तै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0