पोखरा ९, असोज। गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा भएको ठूलो मानवीय हताहतीलाई लिएर अन्तरिम सरकारले छानबिन प्रक्रियालाई तीव्रता दिएको छ। यस क्रममा केही प्रमुख नेताहरूमाथि छानबिनको तयारी गरिएको छ, जसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक प्रमुख छन्। विशेषगरी भदौ २३ गतेको आन्दोलन दमन गर्न निर्देशन दिएको आरोपमा उनीहरूमाथि अनुसन्धान केन्द्रित गरिएको हो।
बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारले केही नेताहरूको राहदानी रोक्का गर्ने गरी छानबिन अघि बढाएको समाचारबारे सोधिएको प्रश्नमा ‘तपाईंहरूले सुनेको कुरा सत्यनजिक छ’ भनी जवाफ दिए। उनले यसमा राज्यका निकायले आफ्नो काम गरिरहेको र प्रधानमन्त्रीले समेत राष्ट्रका नाममा गरेको सम्बोधनमा दोषीलाई कुनै पनि हालतमा नछोडिने बताएको जानकारी दिए।
यस घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा एक उच्चस्तरीय जाँचबुझ आयोग गठन भइसकेको छ। सरकारले यो आयोगसँग प्रारम्भिक छलफल गरिसकेको छ र आयोगका सदस्यहरूको शपथपछि औपचारिक रूपमा कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र बालेनका मित्र सुदन गुरुङले समेत तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि कारबाही गर्न सरकारमाथि निरन्तर दबाब दिइरहेका छन्।
जेन-जी आन्दोलनका क्रममा तत्कालीन सरकारले गरेको दमनप्रति व्यापक जनआक्रोश बढिरहेको छ। भदौ २३ मा १९ जना मानिस मारिएपछि गृहमन्त्री लेखकले सोही दिन राजीनामा दिएका थिए भने प्रधानमन्त्री ओलीले भदौ २४ मा पदबाट राजीनामा दिएका थिए। सरकारले अहिले आयोगको शपथपछि ओली र लेखकसहितका नेताहरूको राहदानी रोक्का गरी थप छानबिन गर्ने तयारी गरेको छ।
यसैगरी, जेन-जी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास र पूर्वऊर्जामन्त्री दीपक खड्काको घरमा ठूलो मात्रामा जलेको नगद रकम फेला परेपछि उनीहरूमाथि पनि अनुसन्धान सुरु गरिएको छ। सम्पत्ति शुद्धिकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुवै नेताको घरमा पुगेर मुचुल्का उठाएका छन्। यद्यपि देउवाको सचिवालयले सामाजिक सञ्जालमा फैलिएको ‘पैसाको सुरुङ’ र जलेको नोटको खबर कपोलकल्पित र पार्टीलाई बदनाम गर्ने उद्देश्यले फैलाइएको भन्दै खण्डन गरेको थियो। तर, पार्टीभित्रै पनि दुई जना जिल्ला सभापतिहरूले देउवा र खड्कासँग यसबारेमा जवाफ मागेको महामन्त्री विश्वप्रकाश शर्माले नै स्वीकार गरेका छन्। जेन-जी आन्दोलनका प्रदर्शनकारीले जलाएर ध्वस्त पारेका यी घरभित्र अनुसन्धान टोलीले नगद नोटका जलेका अंश फेला पारेको स्रोतले जनाएको छ।





























