पोखरा २२, भाद्र। सरकारविरुद्धको आन्दोलनले देशभर हिंसात्मक रूप लिँदा प्रमुख राजनीतिक दलका नेताहरूको निजी निवास र पार्टी कार्यालयहरूमा आगजनी र तोडफोड भएका छन्। देशभरका विभिन्न संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीको नियन्त्रण बाहिर गएको यो अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा क्षति पुगेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास र प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा प्रदर्शनकारीले आगो लगाएका छन्। यसैगरी, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा आगजनी र पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा तोडफोड भएको छ। यसबाहेक, परराष्ट्रमन्त्री आरजु देउवाको धनगढीस्थित निवास, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको सुनाकोठीस्थित घर, ऊर्जामन्त्री दीपक खड्काको बुढानीलकण्ठ निवास, कांग्रेस महामन्त्री गगन थापाको रातोपुलस्थित निवास र एमाले नेताहरू रघुविर महासेठ र सुरेन्द्र पाण्डेको निवासमा पनि आक्रमण भएको छ। अहिले सुरक्षाकर्मीहरूले नेताहरूलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0