पोखरा, २८ असार। सन् १९९० को दशकदेखि इरानी सिनेमाले अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा निरन्तर पुरस्कार जित्दै विश्व सिनेमामा आफ्नो गहिरो स्थान बनाउन सफल भएको छ। निर्देशक मार्टिन स्कोर्सेसीले ‘इरानी सिनेमाहरूले मौनतामार्फत गहिरा तथा गम्भीर भावना व्यक्त गर्छन्, त्यहाँका सिनेमाहरूले हामीलाई संसार बुझ्न र पढ्न नयाँ भाषा दिएका छन्’ भन्नुले पनि यसको महत्त्व पुष्टि गर्दछ। यो दशकलाई सिनेमाको इतिहासमा महत्त्वपूर्ण संक्रमणकालीन युग मानिन्छ, जहाँ डिजिटल प्रविधिको सुरुआतसँगै कथावाचनमा नयाँ प्रयोगहरू भए र जातीयता, लैंगिकता, मानसिक स्वास्थ्य जस्ता विविध विषयहरू खुलेर उठ्न थाले। यसै समयमा साना बजेटका तर कलात्मक रूपमा सशक्त इन्डिपेन्डेन्ट सिनेमाहरूले अन्तर्राष्ट्रिय मान्यता पाए, जसले ग्लोबल सिनेमाको विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्यो।
१९९० को दशकदेखि इरानी सिनेमा विश्वभरका समालोचक, दर्शक तथा फिल्म अनुसन्धानकर्ताहरूका लागि कलात्मक सिनेमाको प्रमुख स्रोत बनेको छ। राष्ट्रिय स्तरमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय महोत्सवहरूमा पनि यसले उच्च सम्मान प्राप्त गरिरहेको छ। यस कालखण्डमा निर्मित इरानी सिनेमाहरूले यथार्थपरक प्रस्तुति, गहिरो मानव संवेदना, प्रतीकात्मक शैली र सामाजिक-धार्मिक सन्दर्भको चित्रणमार्फत विश्वभरका दर्शकलाई प्रभावित पारेका छन्। यसलाई सन् १९४० को दशकको अन्त्यतिर इटालीमा चलेको क्रान्तिकारी सिनेमा आन्दोलन ‘इटालियन नियो-रियलिज्म’ सँग तुलना गरिन्छ, जसले विश्व सिनेमामा यथार्थवादको गहिरो छाप छोडेको थियो। इरानी सिनेमाले पनि साधारण जनजीवन, वर्ग संघर्ष, बाल-मनस्थितिको चित्रण र नैतिक द्वन्द्वलाई सरल तर गहिरो शैलीमा प्रस्तुत गर्दै आएको छ।
सन् १९७९ को इस्लामी क्रान्तिपछि इरानमा शाही शासन समाप्त भई इस्लामी गणतन्त्र स्थापना भयो। यस ऐतिहासिक घटनाले देशको राजनीतिक, सामाजिक र सांस्कृतिक संरचनामा ठूलो परिवर्तन ल्यायो। कला र संस्कृतिमाथि कडा नियन्त्रण लागू गरियो, जसमा सिनेमा सबैभन्दा बढी प्रभावित भयो। महिलाहरूलाई पर्दामा हिजाब अनिवार्य गरियो, महिला-पुरुष बीचको शारीरिक सम्पर्कमा प्रतिबन्ध लगाइयो, र प्रेम, व्यक्तिगत स्वतन्त्रता तथा राजनीतिक आलोचनाका विषयहरूलाई सेन्सर गरियो। यद्यपि, यी प्रतिबन्धहरूको बाबजुद पनि केही निर्देशकहरूले प्रतीकात्मक शैली प्रयोग गरी कलात्मक अभिव्यक्ति जारी राखे। अब्बास कियारोस्तामी, जाफर पनाही, मजिद मजिदी जस्ता निर्देशकहरूको उदय यसै समयमा भयो, जसले यथार्थता र कवितात्मकताको अद्वितीय संगमलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरे।
इरान-इराक युद्ध (१९८०-१९८८) ले पनि इरानी सिनेमा उद्योगलाई भावनात्मक, आर्थिक र विचारधारात्मक रूपमा ठूलो प्रभाव पार्यो। सरकारले युद्धमा आधारित ‘देफा-ए मोकाद्दास’ सिनेमाहरूलाई प्रोत्साहन गर्यो, जसले सैनिक बलिदान, शहादत र मातृभूमिको रक्षालाई महिमामण्डन गर्यो। तर, यसको विपरीत, केही निर्देशकहरूले युद्धको प्रत्यक्ष चित्रण नगरी त्यसको सामाजिक र मनोवैज्ञानिक छायामार्फत आफ्ना कला प्रस्तुत गरे। यसले ‘पोस्ट-वार रियलिज्म’ को आधार तयार पार्यो र इरानी सिनेमालाई ‘स्लो सिनेमा’ वा ‘पोयटिक रियलिज्म’ को पर्याय बनायो। युद्धको पीडा, आत्मानुशासन र धार्मिक चेतनाले इरानी फिल्मकर्मीहरूलाई यस्तो कला सिर्जना गर्न बाध्य बनायो, जसले अन्तर्राष्ट्रिय स्तरमा इमानदार र गहिरो मानव अनुभूतिलाई अभिव्यक्त गर्ने माध्यम पायो।
सन् २००९ को ‘ग्रीन मुभमेन्ट’ र २०२२ मा महसा अमिनीको मृत्युपछि सुरु भएको विरोध प्रदर्शनले इरानी समाजमा ठूलो राजनीतिक र सामाजिक प्रभाव पारेको छ। यी आन्दोलनहरूले कलाक्षेत्रमा पनि असर देखायो। जाफर पनाही र मोहम्मद रसलुफ जस्ता निर्देशकहरूले सत्ता विरोधी दृष्टिकोणका लागि पटक-पटक हिरासत र प्रतिबन्धको सामना गर्नुपर्यो। रसलुफको हालैको फिल्म ‘द सिड अफ द सेक्रेड फिग’ कोन्स फिल्म फेस्टिवलमा प्रदर्शन हुनुअघि उनलाई जेल सजाय सुनाइयो, जसपछि उनी इरानबाट भाग्न बाध्य भए। यी घटनाहरूले इरानी सरकारले कलात्मक अभिव्यक्तिमाथि गर्ने कठोर दमनलाई स्पष्ट पार्छ।
हाल इरान-इजरायल बीच जारी युद्धले पनि त्यहाँको सिनेमा संसारमा गहिरो असर पारेको छ। सिनेमा घरहरू बन्द भएका छन्, निर्माण कार्य घटेको छ र अन्तर्राष्ट्रिय सहकार्यमा कमी आएको छ। भय र त्रासले धेरै कलाकार राजनीतिक रूपमा तटस्थ भएका छन्, जबकि नयाँ सिनेमाकर्मीहरू टर्की, फ्रान्स र जर्मनी जस्ता देशहरूमा पलायन भइरहेका छन्। यद्यपि, यी सबै कठिनाइहरूको बाबजुद पनि इरानी सिनेमाहरूको आवाज अन्तर्राष्ट्रिय स्तरमा अझै बलियो र चर्को हुँदै गइरहेको छ। सिनेमाले अहिलेसम्म कुनै युद्ध रोक्न नसके पनि शान्तिको सन्देश फैलाउन, द्वन्द्वप्रति चेतना जगाउन र जनमत निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
इरानी सिनेमाले दबाब र दुःखका बीचबाट पनि अगाडि बढ्दै विश्वलाई कथा व्यक्त गर्न शब्द मात्र होइन, दृष्टिकोण, मौनता र मानवीयता नै काफी हुन्छ भन्ने सिकाएको छ। तिनै कठिनाइहरूले इरानी सिनेमालाई मजबुत, संवेदनशील र प्रतीकात्मक रूपमा आज विश्वको सबैभन्दा सशक्त सिनेमामध्ये एक बनाएको छ। यो केवल कलाको रूपमा मात्र नभएर राष्ट्रको सांस्कृतिक प्रतिरोध र आत्माको अभिव्यक्तिका रूपमा पनि लिइन्छ।































