पोखरा, १८ असार। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टी महामन्त्री गगनकुमार थापाकै कारण आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको गम्भीर आरोप लगाएका छन्। बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बस्नेत आक्रोशित शैलीमा प्रस्तुत हुँदै थापाले व्यक्तिगत पूर्वाग्रहका आधारमा आफूमाथि कारबाही गराउन भूमिका खेलेको दाबी गरेका हुन्।
बैठकमा सहभागी एक सदस्यका अनुसार बस्नेतले टेरामक्स प्रकरणमा थापा खुल्ला रूपमा आफ्नो विपक्षमा उभिएको र संसद्मै समेत आक्रोशपूर्वक प्रस्तुति दिएको उल्लेख गरेका थिए। ‘महामन्त्री गगन थापा टेरामक्स प्रकरणमा मविरुद्ध खुलेर लाग्नुभयो’, बस्नेतको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘उहाँकै कारण अख्तियारले मेरो नाममा छानबिन अगाडि बढायो।’
बस्नेतको आरोपअनुसार थापाले बाह्य माध्यमबाट समेत आफ्नो छवि बिगार्ने प्रयास गरेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग उनलाई निशानामा पार्न प्रेरित भयो। उनले थपे, ‘कोही पनि चोखो छैन, ढिलोचाँडो सबैको पालो आउनेछ।’
बस्नेत टेरामक्स प्रकरणमा अख्तियारको मुद्दामा तानिएका छन्। आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अदालतले उनलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्दै तारेखमा चलाउने आदेश दिएको थियो।
यस घटनाले कांग्रेसको आन्तरिक राजनीतिमा गम्भीर विवाद चुलिएको छ। पार्टीभित्रको असहिष्णुता, प्रतिशोधी धारणा र संस्थागत प्रक्रियाप्रतिको शंका गहिरिँदै गएको छ। एकातिर, बस्नेतले आफूविरुद्ध षड्यन्त्र भएको तर्क गरिरहेका छन् भने अर्कातिर, थापाले आफू फोहोरको राजनीति नगर्ने स्पष्ट संदेश दिएका छन्।
थापामाथि आरोप लगाइएपछि कांग्रेसभित्र नेतृत्व तहमा नै विश्वासको संकट देखिन थालेको टिप्पणी गरिँदैछ। आन्तरिक विवादको सार्वजनिक प्रस्तुति र आपसी दोषारोपणले पार्टीको एकतालाई नै चुनौती दिन थालेको नेताहरूको चिन्ता छ।





























