पोखरा, १३ असार। गत जनवरीमा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दा डोनाल्ड ट्रम्पले आफूलाई ‘शान्तिदूत’ का रूपमा प्रस्तुत गरेका थिए। उनले मध्यपूर्वमा शान्ति स्थापना गर्ने प्रयास गर्ने दाबी गरेका थिए। तर, हालैको घटनाक्रमले उनको सो छविलाई चुनौती दिएको छ। अमेरिकाले इरानको आणविक केन्द्रमाथि भिषण बमबारी गरेपछि अमेरिका, इरान र इजरायलबीचको तनावले भयावह युद्धको रूप लिन सक्ने खतरा बढेको छ।

अमेरिकी बमबारीको करिब दुई घण्टापछि ह्वाइट हाउसबाट राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले उक्त सैन्य कारबाही ‘सानदार रूपमा सफल’ भएको दाबी गरे। उनले यस कदमले इरानलाई आणविक हतियार बनाउनबाट रोक्ने र शान्ति स्थापनामा मद्दत पुग्ने आशा व्यक्त गरे। यद्यपि, इरानले भने आफ्नो फÞोर्दो परमाणु केन्द्रमा खासै क्षति नपुगेको दाबी गरेको छ। यसले गर्दा कुन पक्षको दाबी सही हो भन्नेमा अन्योलता कायम रहेको छ।

उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पिट हेग्सेथलाई साथमा राखेर ट्रम्पले इरानलाई चेतावनी दिँदै भने, “यदि इरानले आफ्नो परमाणु कार्यक्रम बन्द गरेन भने भविष्यमा अमेरिकाले उसमाथि अझै कडा आक्रमण गर्नेछ।” अमेरिकाले बंकर बस्टर बम प्रहार गरेको र इरानमा अझै धेरै निशानाहरू बाँकी रहेको उनको भनाइ थियो।

बढ्दो तनाव र विश्वव्यापी खतरा

इरानमाथि आक्रमण गर्ने अमेरिकी निर्णयले मध्यपूर्वमा युद्धको आगो बल्न सक्ने र त्यसले विश्वभरि नै ठूलो खतरा निम्त्याउन सक्ने जोखिम बढेको छ। संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले यस कदमले पहिले नै तनावग्रस्त मध्यपूर्वलाई थप अराजक बनाउने चेतावनी दिएका छन्। इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले जवाफी हमला गर्ने चेतावनी दिएकाले यदि इरानले त्यसको पालना गरेमा अमेरिकाले इरानमाथि पुनः व्यापक आक्रमण गर्ने पक्का छ।

गत हप्ताको सुरुमै ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न दुई हप्ताको समयसीमा दिएका थिए। तर, उनको त्यो ‘डेडलाइन’ केवल दुई दिनमै सकियो र शनिबार अमेरिकाले इरानमाथि आक्रमण गर्‍यो। यस घटनाले अमेरिकाको नियतमाथि प्रश्न खडा गरेको छ। के यो समयसीमा एउटा छल मात्र थियो? अथवा यो गोप्य वार्ताको असफलताको परिणाम थियो?

अहिले इजरायलले पनि सयौं ड्रोन तथा मिसाइल आक्रमणबाट इरानका सैन्य संरचनाहरूलाई कमजोर बनाउने प्रयास गरिरहेको छ। यद्यपि, दुवै पक्ष अहिले अस्थायी युद्धविरामको अवस्थामा छन्। यदि यो अवस्था कायम रहेन भने मध्यपूर्वमा ठूलो युद्ध हुन सक्ने सम्भावना प्रवल छ।

ट्रम्पको यो निर्णयले घरेलु राजनीतिमा समेत असर पार्ने देखिएको छ। विपक्षी डेमोक्र्याट पार्टी मात्र नभई ‘अमेरिका फर्स्ट’ नीतिका समर्थकहरूले पनि ट्रम्पको आलोचना गर्न थालेका छन्। यदि यो आक्रमण एकपटकको मात्र हो भने ट्रम्पले आफ्ना समर्थकहरूलाई सन्तुष्ट पार्न सक्छन्, तर अमेरिका युद्धमा फसेमा उनलाई आफ्नै पार्टीभित्रबाट समेत विरोधको सामना गर्नुपर्नेछ। ट्रम्पले आफ्नो पहिलो कार्यकालमा कुनै युद्ध सुरु नगरेकोमा गर्व गर्ने गरेका थिए, तर अहिले उनले यस्तो कठोर कदम उठाएका छन्। अब उत्पन्न हुने परिस्थिति उनको नियन्त्रणमा रहनेछ भन्ने कुराको कुनै ग्यारेन्टी छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0