पोखरा २५, फागुन । इटालियन सिरी ए अन्तर्गतको बहुप्रतिक्षित ‘डर्बी डेला म्याडोनिना’मा एसी मिलानले शीर्ष स्थानको इन्टर मिलानलाई १-० ले पराजित गर्दै उपाधि होडलाई रोमाञ्चक बनाएको छ। सान सिरो स्टेडियममा आइतबार राति भएको खेलमा एसी मिलानका लागि ३५औँ मिनेटमा पर्भिस इस्तुपिनाले गरेको एक मात्र गोल निर्णायक बन्यो। यस जितसँगै एसी मिलानले लिग तालिकाको शीर्ष स्थानमा रहेको इन्टरसँगको अंकदूरीलाई ७ मा झारेको छ। यो सिजन लिगका दुवै खेलमा इन्टरलाई हराउँदै मिलानले ‘लिग डबल’ पूरा गरेको छ, जुन सन् २०११ यता पहिलोपटक हो।

इन्टर मिलानका लागि यो हार निकै महँगो साबित भएको छ। यदि इन्टरले यो खेल जितेको भए अंक तालिकामा १३ अंकको फराकिलो अग्रता बनाउँदै उपाधि नजिक पुग्ने थियो, तर पराजयले उनीहरूको विजयी यात्रामा पूर्णविराम लगाइदिएको छ। हारका बाबजुद इन्टर २८ खेलबाट ६७ अंकका साथ शीर्ष स्थानमा कायमै छ भने एसी मिलान समान खेलबाट ६० अंक जोडेर दोस्रो स्थानमा छ। खेलभरि नै एसी मिलानको रक्षात्मक रणनीति र इस्तुपिनाको गोलले इन्टरलाई दबाबमा राखेको थियो। लिगका १० खेल बाँकी रहँदा एसी मिलानको यस प्रदर्शनले स्कुडेट्टोको दौडलाई थप रोचक र अप्रत्याशित बनाइदिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0