पोखरा ४, फागुन । कास्कीको पोखरा–२८ स्थित ढुंगे थान युवा क्लबको आयोजनामा साविक माझठाना र कालिका वडास्तरीय भलिबल प्रतियोगिता शनिबारदेखि औपचारिक रूपमा सुरु भएको छ। खेलकुदको माध्यमबाट स्थानीय युवाहरूको क्षमता पहिचान गर्ने र उनीहरूलाई सामाजिक कार्यमा सक्रिय गराउने उद्देश्यका साथ आयोजित यस प्रतियोगिताको उद्घाटन मादी गाउँपालिकाका प्रमुख देवीजङ गुरुङले गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख गुरुङले विकास निर्माण एक निरन्तर प्रक्रिया भएको बताउँदै खेलकुदले युवा वर्गमा अनुशासन र सामूहिक भावनाको विकास गर्ने उल्लेख गर्नुभयो। आफू पनि पूर्व भलिबल खेलाडी भएको स्मरण गर्दै उहाँले माझठाना र कालिका क्षेत्रको पर्यटन र कृषिको प्रवर्द्धनका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो। साथै, उहाँले आगामी दिनमा क्लबले सञ्चालन गर्ने रचनात्मक कार्यक्रमहरूमा मादी गाउँपालिकाले आवश्यक सहकार्य र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

प्रतियोगिताका संयोजक सुरेश आचार्यका अनुसार मादी गाउँपालिका मुख्य प्रायोजक र पोखरा–२८ वडा कार्यालय सह–प्रायोजक रहेको यस प्रतिस्पर्धामा कुल १० वटा समूहले सहभागिता जनाएका छन्। प्रतियोगिताको पहिलो दिन भएका खेलहरूबाट साविक माझठाना वडा नम्बर १, साविक माझठाना–४ नौरुङ र साविक माझठाना वडा नम्बर ८ सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन्। बाँकी सेमिफाइनल र फाइनल खेलहरू आइतबार सम्पन्न हुने जानकारी संयोजक आचार्यले दिनुभयो। क्लबका अध्यक्ष मनमोहन अधिकारीले विगतका वर्षहरूमा फागु पूर्णिमाको अवसरमा प्रतियोगिता गरिँदै आए तापनि यस वर्ष आसन्न निर्वाचनका कारण समय परिमार्जन गरी महाशिवरात्रीको अवसर पारेर आयोजना गरिएको स्पष्ट पार्नुभयो। उहाँले ढुंगे थान क्षेत्रमा शिव मन्दिर स्थापना गर्ने क्लबको दीर्घकालीन योजना रहेको सुनाउँदै खेलाडी र दर्शकका लागि स्तरीय खेलमैदान निर्माण गर्न वडा कार्यालयलाई आगामी आर्थिक वर्षमा बजेट विनियोजनका लागि आग्रह गर्नुभयो।

कार्यक्रममा डाँडा गाउँ टोल विकास संस्थाका अध्यक्ष मंगल बहादुर नेपालीले स्वास्थ्य र अनुशासनका लागि खेलकुदको महत्वमाथि प्रकाश पार्दै खेलाडीहरूलाई खेल भावना प्रदर्शन गर्न सुझाव दिनुभयो। उहाँले क्लब समाजको साझा सम्पत्ति भएकाले यसका हरेक गतिविधिमा टोल विकास संस्थाले पूर्ण सहयोग गर्ने बताउनुभयो। क्लबका सल्लाहकार चित्र बहादुर नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन सत्रमा विदेशमा रहेका नेपालीहरू र स्थानीय सहयोगीहरूको योगदानप्रति आभार व्यक्त गरिएको थियो। क्लबका अध्यक्ष मनमोहन अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन क्लबका सदस्य एवं सचिव महेश्वर अधिकारीले गर्नुभएको थियो। यस प्रतियोगिताले स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाहरूलाई राष्ट्रिय स्तरसम्म पुग्न हौसला प्रदान गर्ने विश्वास आयोजकले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0