पोखरा ४, फागुन । चर्चित अभिनेता सौगात मल्लले नेपाली फिल्म उद्योगको प्रमुख समस्या कमजोर स्क्रिप्ट लेखन र हतारमा फिल्म निर्माण गर्ने प्रवृत्ति रहेको बताएका छन्। हालैको एक बहसका क्रममा उनले नेपाली फिल्म उद्योग संक्रमणकालबाट गुज्रिरहेको र निर्माताहरूले ठूलो आर्थिक जोखिम मोल्नुपरिरहेको प्रति गम्भीर चिन्ता व्यक्त गरे। मल्लका अनुसार फिल्मको सफलताका लागि कथाको जग बलियो हुनुपर्नेमा यहाँ लेखाइलाई पर्याप्त समय दिने चलनै छैन। “बीउ रोपेर भोलिपल्टै फल लाग्दैन, स्क्रिप्ट लेख्नु भनेको खेतबारी जस्तै हो जसलाई समय र मौसम अनुसार मलजल चाहिन्छ,” उनले भने। उनले कम्तीमा एक वर्ष स्क्रिप्टमा काम नगरेसम्म स्तरीय फिल्म बन्न नसक्ने ठोकुवा गरे।
फिल्म क्षेत्रमा निर्माताहरूको अवस्था निकै दयनीय रहेको उल्लेख गर्दै सौगातले कतिपय निर्माताहरू घरखेत बेचेर पनि उठ्न नसक्ने गरी ऋणमा फसेको उदाहरण दिए। फिल्म चल्ने निश्चित नहुँदा नहुँदै पनि माउथ पब्लिसिटीका लागि सित्तैमा टिकट बाँड्नुपर्ने र सुपरहिट भएको कृत्रिम प्रचार गर्नुपर्ने विडम्बनापूर्ण अवस्था रहेको उनले बताए। मल्लले धेरै फिल्महरूमा पैसाका लागि नभई बाध्यता र प्रेसरका कारण काम गर्नुपरेको खुलासा गर्दै स्क्रिप्ट नै तयार नभई छायांकनमा जाने दबाबले फिल्मको गुणस्तर खस्किएको स्वीकार गरे। उनले उद्योगको विकासका लागि प्राविधिक पक्ष मात्र नभई साउण्ड डिजाइन र गहिराइपूर्ण लेखनमा ध्यान दिनुपर्नेमा जोड दिँदै हतारमा फिल्म बनाउनु भन्दा नबनाउनु नै उत्तम हुने सुझाव दिए।





































