पोखरा, २९ जेठ। लण्डन जाँदै गरेको एयर इन्डियाको विमान गुजरातको अहमदावादमा दुर्घटनाग्रस्त भएपछि भारत शोकमा डुबेको छ। दुर्घटनापछि एयर इन्डियाले आफ्ना सबै आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइटलाई कालो र ब्ल्याक एण्ड ह्वाइट बनाउँदै शोक प्रकट गरेको छ।
दुर्घटनामा परी मृत्यु हुनेको संख्या भयावह देखिएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनाग्रस्त विमानबाट हालसम्म एक सयको शव निकालिएको छ। विमानमा १२ जना चालक दलका सदस्यसहित कुल २४२ जना सवार थिए। तीमध्ये ५२ जना बेलायती नागरिक, ६ जना पोर्चुगिज तथा एक जना क्यानडाली नागरिक रहेको पुष्टि भएको छ।
भारतीय समय अनुसार दिउँसो १ बजेर ३८ मिनेटमा अहमदावाद विमानस्थलबाट उडेको विमान दुई मिनेटभित्रै दुर्घटनामा परेको बताइएको छ। प्रारम्भिक विवरण अनुसार टेक अफ गरेको केही समयमै विमान नियन्त्रण गुमाएर भुईँमा खसेको हो।
उक्त दुर्घटनाले भारत मात्र होइन, अन्तर्राष्ट्रिय समुदायलाई समेत स्तब्ध बनाएको छ। राहत तथा उद्धार कार्य जारी रहेको र बाँकी यात्रुहरूको खोजी भइरहेको भारतीय अधिकारीहरूले जनाएका छन्। यस भीषण दुर्घटनाले एयर इन्डियाको उडान सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ भने पीडित परिवारहरू शोकमा छन्।

































