पोखरा ४, चैत्र । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत ४३ स्थान पहिरोको जोखिममा रहेको तथ्य सार्वजनिक भएको छ। सडक डिभिजन कार्यालय भरतपुरले गरेको विस्तृत अध्ययनअनुसार तीमध्ये आठ स्थान उच्च जोखिममा, २२ स्थान मध्यम जोखिममा र १३ स्थान सामान्य जोखिममा रहेको जनाइएको छ। विशेषगरी तुइन खोला क्षेत्रलाई अति उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरिएको छ, जहाँबाट ढुङ्गा खस्ने र लेदोसहितको पहिरो आउने सम्भावना अत्यधिक रहेको छ।

कार्यालयका इन्जिनियर अर्जुन घिमिरे का अनुसार तुइनसँगै काली र नाम्सी खोलाको आसपास क्षेत्र पनि उच्च जोखिममा परेका छन्। उनले तुइनदेखि चिसेन्जीसम्मको क्षेत्रमा ढुङ्गा झर्ने समस्या रहेको, चार किलो क्षेत्रमा दुई स्थानमा पहिरो तथा लेदो खस्ने जोखिम रहेको र मौरी खोला तथा सेती दोभान क्षेत्रमा लेदोसहितको पहिरोको खतरा रहेको जानकारी दिए। साथै १६ किलो, १७ किलो, डुम्रे खोला र सिमलतालजस्ता स्थानहरूमा पनि जोखिम कायम रहेको उल्लेख गरिएको छ।

सडक डिभिजन कार्यालयका प्रमुख नारायण लामिछाने ले उच्च जोखिमयुक्त तुइन, काली र नाम्सी खोलामा पहिरो रोकथामका लागि आवश्यक गुरुयोजना स्वीकृतिका लागि सडक विभागमा पठाइसकिएको जानकारी दिए। उनले डिजाइन कार्य अन्तिम चरणमा पुगेको र चाँडै कार्यान्वयन सुरु गरिने बताए। विपद् व्यवस्थापनअन्तर्गत ती क्षेत्रमा पहिरो नियन्त्रणका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ भने अन्य जोखिमयुक्त स्थानका लागि थप २० करोड रुपैयाँ छुट्याइएको छ।

कार्यालयले बोलपत्र आह्वानको तयारी गरिसकेको छ र बर्सात सुरु हुनु अघि नै जोखिम न्यूनीकरणका कार्य सुरु गर्ने लक्ष्य राखिएको छ। केही वर्षअघि सडक विस्तारका क्रममा पहाड काटिएका कारण वर्षायाममा पहिरोको जोखिम अझ बढेको बताइएको छ। विशेषगरी नयाँ काटिएका भित्तो र कमजोर भू–संरचनाका कारण लेदोसहितको पहिरो आउने सम्भावना उच्च रहेको छ।

यो सडक दैनिक १० हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने महत्वपूर्ण राजमार्ग हो, जसलाई राजधानी काठमाडौँसँग जोड्ने ‘लाइफलाइन’ मार्गका रूपमा लिइन्छ। वर्षायाममा पहिरोका कारण यातायात अवरुद्ध हुँदा देशको आर्थिक तथा सामाजिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भएकाले समयमै रोकथामका उपाय अवलम्बन गर्नु अत्यावश्यक देखिएको छ। सम्बन्धित निकायहरूले जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई तीव्रता दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0