पोखरा ४, चैत्र । अमेरिकी राष्ट्रिय आतंकवाद नियन्त्रण केन्द्रका प्रमुख जो केन्ट ले इरानविरुद्ध सम्भावित युद्धको विरोध गर्दै आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको पत्रमा राष्ट्रपति डोनाल्ड ट्रम्प लाई सम्बोधन गर्दै इरानसँगको युद्धप्रति गम्भीर असहमति जनाएका छन्। केन्टको राजीनामालाई ट्रम्प प्रशासनभित्र इरान नीति सम्बन्धी सबैभन्दा उच्च तहको असहमति रूपमा व्याख्या गरिएको छ।

आफ्नो पत्रमा केन्टले इरान अमेरिकाका लागि तत्काल खतरा नभएको स्पष्ट पार्दै यो युद्ध इजरायल र त्यससँग सम्बन्धित अमेरिकी लबीको दबाबमा अघि बढाइएको दाबी गरेका छन्। उनले यस्तो युद्ध ‘नैतिक रूपमा समर्थन गर्न नसकिने’ भन्दै आफ्नो पद त्याग गरेको बताएका छन्। उनका अनुसार गलत सूचना र भ्रामक विश्लेषणका आधारमा युद्धतर्फ उन्मुख हुने निर्णयले अमेरिकाको दीर्घकालीन हितलाई कमजोर बनाउने जोखिम रहेको छ। उनले विशेषगरी इजरायली अधिकारी तथा केही अमेरिकी मिडियामार्फत फैलाइएको सूचनाले नीति निर्माण प्रक्रियामा असर पारेको आरोप लगाएका छन्।

४५ वर्षीय केन्ट पूर्व अमेरिकी सेना विशेष बलका सदस्य हुन्। उनले ११ पटकसम्म युद्धग्रस्त क्षेत्रमा तैनाथ भएर सेवा गरेका थिए, जसमा इराक युद्ध पनि समावेश छ। सैनिक जीवनपछि उनले केन्द्रीय गुप्तचर निकाय (सीआईए) मा समेत काम गरेका थिए। व्यक्तिगत जीवनमा पनि युद्धले गहिरो असर पारेको उल्लेख गर्दै उनले आफ्नी पत्नी श्यानन केन्ट सन् २०१९ मा सिरियामा भएको आत्मघाती आक्रमणमा गुमाएको स्मरण गरेका छन्। यही अनुभवले उनलाई भविष्यमा यस्तै युद्धमा अर्को पुस्तालाई पठाउने निर्णयप्रति थप संवेदनशील बनाएको उनले उल्लेख गरेका छन्।

राजनीतिक रूपमा पनि सक्रिय रहेका केन्ट रिपब्लिकन पार्टीबाट दुई पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए, तर सफल हुन सकेनन्। उनी करिब आठ महिनाअघि मात्र आतंकवाद नियन्त्रण केन्द्रको निर्देशकमा नियुक्त भएका थिए। आफ्नो कार्यकाल छोटो भए पनि उनले इरान नीति सम्बन्धी असहमतिको कारण पद त्याग गर्ने निर्णय लिएको स्पष्ट पारेका छन्।

यसैबीच, राष्ट्रपति ट्रम्पले केन्टको राजीनामापछि प्रतिक्रिया दिँदै उनलाई ‘सुरक्षाका मामिलामा कमजोर’ भएको आरोप लगाएका छन् र उनको बहिर्गमन उचित भएको बताएका छन्। केन्टले इजरायलको भूमिकाबारे गरेको टिप्पणीपछि केही नेताहरूले उनलाई ‘यहूदी विरोधी’ भएको आरोप समेत लगाएका छन्। तर उनका समर्थकहरूले भने यसलाई सिद्धान्तमा आधारित साहसी कदम भन्दै समर्थन जनाएका छन्।

विश्लेषकहरूका अनुसार केन्टको राजीनामाले अमेरिकी विदेश नीतिमा तत्काल ठूलो परिवर्तन ल्याउने सम्भावना कम भए पनि राजनीतिक रूपमा प्रभाव पार्न सक्छ। विशेषगरी आगामी मध्यावधि निर्वाचनअघि ट्रम्प समर्थक समूहभित्र नै मतभेद र असन्तुष्टि बढ्न सक्ने संकेत देखिएको छ। यस घटनाले अमेरिकाको मध्यपूर्व नीति र इरानप्रतिको दृष्टिकोणबारे थप बहस र ध्रुवीकरण निम्त्याउने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0