पोखरा ४, चैत्र । काठमाडौं उपत्यकाको ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेको घोडेजात्रा पर्व आज परम्परागत हर्षोल्लासका साथ मनाइएको छ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने यस जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। विशेषगरी काठमाडौंको मुटुमा रहेको टुँडिखेलमा आयोजित समारोहले सबैको ध्यान आकर्षित गरेको छ, जहाँ नेपाली सेनाले आफ्नो विशिष्ट कला र कौशलको प्रदर्शन गरेको छ। जात्रालाई हेर्न र यसको पौराणिक महत्वलाई बुझ्न हजारौँको संख्यामा स्थानीयबासी तथा पर्यटकहरूको उपस्थिति रहेको थियो।

टुँडिखेलमा आयोजित उक्त विशेष समारोहमा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम र युद्धकलालगायतका विविध साहसिक प्रदर्शनहरू गरिएका थिए। समारोहमा सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत राज्यका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो, जसले यस पर्वको राष्ट्रिय गरिमालाई थप प्रस्ट्याउँछ। सेनाका जवानहरूले घोडाको माध्यमबाट देखाएका विभिन्न कलात्मक खेलहरू र कठिन सैन्य अभ्यासहरूले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। यो प्रदर्शन केवल मनोरञ्जनका लागि मात्र नभई नेपाली सेनाको तालिम र क्षमताको प्रतिकका रूपमा पनि हेरिन्छ।

धार्मिक तथा सांस्कृतिक विश्वासअनुसार, यो पर्व गुरुमापा नामक राक्षसको संहारसँग जोडिएको छ। लोककथन अनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको रूखमा बास गर्ने उक्त राक्षसले शहरका बालबालिकालाई खाइदिने गर्थ्यो। पीडित नगरबासीहरूले त्यसलाई समाप्त पारे पनि उसको प्रेतात्मा फेरि सक्रिय भएर बालबालिकालाई हानी पुऱ्याउन सक्ने डर सधैं रहिरह्यो। त्यसैले, घोडाको टापले कुल्चाएर उक्त राक्षसको आत्मालाई दबाउन र बालबालिकालाई सुरक्षा प्रदान गर्न प्रत्येक वर्ष यो जात्रा मनाउने गरिन्छ। आजकै रात सोही रूखको फेदमा गुरुमापालाई खानेकुरा दिएर शान्त पार्ने चलन पनि छ। यस्तै, ललितपुरको पाटनमा पनि एउटा आँखा नदेख्ने घोडा दौडाएर यो पर्व मनाउने आफ्नै मौलिक परम्परा जीवितै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0