पोखरा २५, फागुन । कास्की जिल्लाको संसदीय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकछत्र राज कायम गरेको छ। कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा ‘क्लिन स्विप’ गर्दै रास्वपाले ऐतिहासिक सफलता हात पारेको छ। तर, यस जितमा सबैभन्दा रोचक पक्ष भनेको मतदाताले उम्मेदवारको व्यक्तित्वभन्दा पनि पार्टीको ब्रान्ड र चुनाव चिह्न ‘घण्टी’ मा देखाएको अपार भरोसा हो। निर्वाचन आयोगको तथ्याङ्कअनुसार, रास्वपाका उम्मेदवारहरूले प्रत्यक्षतर्फ पाएको कुल मतभन्दा पार्टीले समानुपातिकतर्फ पाएको मत ४ हजार ८४ ले बढी छ। यसले के प्रस्ट पारेको छ भने कास्कीका मतदाताहरूमाझ व्यक्तिको भन्दा पार्टीको विचार र सिद्धान्तप्रति आकर्षण ह्वात्तै बढेको छ। प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार, कास्कीका तीनवटै क्षेत्रमा गरी रास्वपाले समानुपातिकतर्फ १ लाख १३ हजार ६२८ मत बटुलेको छ, जबकि प्रत्यक्षतर्फका तीन विजयी उम्मेदवारहरूको कुल मत १ लाख ९ हजार ५४४ मात्र रहेको छ।

यो चुनावी नतिजाले कास्कीको मतदाता मनोविज्ञानमा आएको ठूलो बदलावलाई उजागर गरेको छ। परम्परागत दलहरू जस्तै नेपाली कांग्रेस र नेकपा एमालेको अवस्था भने रास्वपाको ठीक उल्टो देखिएको छ। यी पुराना दलहरूले प्रत्यक्षतर्फ आफ्ना उम्मेदवारले पाएको मतभन्दा समानुपातिकमा निकै कम मत प्राप्त गरेका छन्। यसबाट के बुझिन्छ भने पुराना दलहरूमा उम्मेदवारको व्यक्तिगत प्रभावले केही मत जोगाए पनि पार्टीको समग्र लोकप्रियता भने खस्कँदो छ। उदाहरणका लागि, क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार तिलकबहादुर रानाभाटले पाएको मतभन्दा पार्टीले समानुपातिकमा पाएको मत कम छ। यसको ठीक विपरीत रास्वपाको मत प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्षभन्दा समानुपातिकमा बढी देखिएको छ। निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षमा ३९ हजार ८८३ मत पाएका खडकराज पौडेलको तुलनामा पार्टीले ४१ हजार ३५६ मत पाएको छ।

क्षेत्र नम्बर २ मा पनि यही प्रवृत्ति दोहोरिएको छ। त्यहाँ प्रत्यक्षतर्फ उत्तमप्रसाद पौडेलले ३१ हजार ९११ मत प्राप्त गर्दा समानुपातिकतर्फ पार्टीले ३३ हजार ६५७ मत ल्याएको छ। यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ मा बिना गुरुङले ३७ हजार ७५० मत ल्याएर जित हासिल गर्दा समानुपातिकतर्फ भने पार्टीको पक्षमा ३८ हजार ६१५ मत खसेको छ। यी आँकडाहरूले रास्वपाको जनलहर कुनै एक व्यक्तिमा सीमित नभई एउटा व्यवस्थित राजनीतिक ब्रान्डका रूपमा स्थापित भएको पुष्टि गर्दछन्। कास्कीमा रास्वपा १ लाख १३ हजार ६२८ मतका साथ पहिलो शक्ति बनेको छ भने नेपाली कांग्रेस २८ हजार ६५६ र नेकपा एमाले २४ हजार १९९ मतमा सीमित हुन पुगेका छन्। कास्कीमा देखिएको यो ‘ट्रेन्ड’ ले आगामी दिनमा नेपाली राजनीतिको दिशा र मतदाताको प्राथमिकतामा कस्तो परिवर्तन आउँदैछ भन्ने कुराको स्पष्ट संकेत दिएको छ। उम्मेदवारको अनुहारभन्दा ‘घण्टी’ छापप्रतिको यो मोहले दलहरूलाई अब आफ्नो संगठन र नीतिमा पुनर्विचार गर्न बाध्य बनाउने निश्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0