पोखरा २५, फागुन । नेपालको न्यायिक र राजनीतिक इतिहासमा सुशीला कार्की एउटा यस्तो नाम बनेको छ, जसले निष्ठा, साहस र निष्पक्षताको कसीमा आफूलाई पटक-पटक प्रमाणित गरेको छ। एक दशकअघि आफ्नो स्तरीय न्याय सम्पादन, बौद्धिक विद्वत्ता र निडर फैसलाका कारण सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएकी कार्कीले सन् २०१६ (विसं २०७३) मा नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेर एउटा इतिहास रचेकी थिइन्। विराटनगरको कर्मथलोबाट सर्वोच्चको उच्च ओहोदासम्म पुग्दा उनले थुप्रै उतारचढावको सामना गर्नुपर्यो। विशेषगरी सन् २०१७ (विसं २०७४) को वैशाखमा उनीविरुद्ध संसद्‌मा दर्ता गरिएको महाभियोगको प्रस्तावले नेपालको संवैधानिक इतिहासमा ठूलो हलचल ल्याएको थियो। कुनै पनि सरकारले आफ्नो मनमौजी निर्णयको विरुद्धमा उभिने र स्वतन्त्र न्यायपालिकाको पक्षमा दृढ रहने न्यायिक नेतृत्वलाई पन्छाउन कसरी संवैधानिक अस्त्रको दुरुपयोग गर्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण थियो। तर, सत्यको बाटोमा अडिग कार्कीका विरुद्धको त्यो महाभियोग सात दिनमै सर्वोच्च अदालतले बदर गरिदिएपछि उनको व्यक्तित्व झनै ओजिलो र अविजित बनेर निस्कियो।

सुशीला कार्कीको यात्रा प्रधानन्यायाधीशमा मात्र सीमित रहेन। उनी नेपालको पहिलो महिला प्रधानमन्त्री बनेर अर्को असाधारण इतिहास रच्न सफल भइन्। सन् २०२५ (विसं २०८१) को भदौ २३ र २४ गते भएको ऐतिहासिक ‘जेनजी’ आन्दोलनपछि मुलुकले एउटा भरपर्दो र निष्पक्ष नेतृत्वको खोजी गरिरहेको बेला सबैको नजर कार्कीमाथि पर्यो। आन्दोलनका कारण कार्यपालिका रिक्त जस्तै भएको र मुलुक राजनीतिक अन्योलमा फसेको बेला उनलाई छ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने महत्त्वपूर्ण जिम्मेवारीसहित सरकारको बागडोर सुम्पियो। सरकारको नेतृत्व सम्हाल्दा कार्कीले अत्यन्तै कठिन परिस्थितिको सामना गर्नुपरेको थियो। आन्दोलनका क्रममा हजारौँ युवाहरू घाइते भई अस्पतालका शय्यामा छटपटाइरहेका थिए भने पचासौँको ज्यान गइसकेको थियो। सडकहरू अझै पनि रगतका टाटा र हिंसाका अवशेषले भरिएका थिए। यस्तो कारुणिक समयमा प्रधानमन्त्री बनेकी कार्कीले पदीय अहम् त्यागेर एक ममतामयी आमाको भूमिका निभाउँदै अस्पताल पुगेर घाइतेहरूलाई सान्त्वना दिने कार्य गरिन्, जसले आम नागरिकको मन जित्न सफल भयो।

सरकार सञ्चालनका क्रममा उनले अनेकौँ चुनौती र व्यङ्ग्यको सामना पनि गर्नुपर्यो। उनको उमेर र शारीरिक अवस्थालाई लिएर कतिपयले आलोचना गरे भने कतिपयले उनलाई केवल ‘आइमाई’ मात्र ठानेर सामाजिक सञ्जालमा विभिन्न ट्रोलहरू बनाए। तर, अन्तर्राष्ट्रिय जर्नलहरूमा निरन्तर लेख लेख्ने र अध्ययनमा रमाउने कार्कीले आफ्नो बौद्धिक सामर्थ्य र कार्यक्षमताले ती सबै आलोचकको मुख बन्द गरिदिइन्। एकातिर संसद् पुनर्स्थापनाको मुद्दा सर्वोच्चमा विचाराधीन थियो भने अर्कोतिर उनलाई प्रधानमन्त्री बनाउनेहरू नै विभिन्न गुट र उपगुटमा विभाजित भएर सत्ता छोड्न दबाब दिइरहेका थिए। देशभरका सरकारी भवन, प्रहरी चौकी र वडा कार्यालयहरू ध्वस्त भएको र सुरक्षा निकायको मनोबल कमजोर भएको स्थितिमा उनले दृढताका साथ प्रशासन सञ्चालन गरिन्। उनले कतै आदेश दिने कठोर शासक त कतै फकाउनुपर्ने ठाउँमा लचिलो अभिभावक बनेर मुलुकलाई स्थिरताको बाटोमा डोहोर्याइन्।

कार्कीको प्रधानमन्त्रीकालको सबैभन्दा ठूलो सफलता भनेको सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउनु हो। उनले आफ्नो कार्यकालमा कुनै पनि निजी लोभ र स्वार्थलाई ठाउँ दिइनन्। सरल जीवनशैली र गहिरो अध्ययन नै उनको शक्तिको स्रोत रह्यो। उनले आफूले नजानेका कुरालाई सहर्ष “म जान्दिनँ” भन्न सक्ने इमानदारिता देखाइन्, जुन नेपाली राजनीतिमा दुर्लभ मानिन्छ। ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज सुशीला कार्कीलाई न्याय, आशा र स्वच्छताको प्रतीकको रूपमा लिइँदै छ। “अवसर दिए प्राप्ति हुन्छ” भन्ने यस वर्षको नारालाई उनले आफ्नो कर्मबाट सार्थक तुल्याएकी छन्। नेपाली समाजले उनलाई केवल एक पूर्वप्रधानन्यायाधीश वा पूर्वप्रधानमन्त्रीका रूपमा मात्र होइन, बरु एउटा यस्तो साहसको प्रतिमूर्तिका रूपमा सम्झिनेछ, जसले इतिहासको कठिन मोडमा उभिएर देशलाई सही दिशा प्रदान गरिन्। उनी वास्तवमै अवसर र प्राप्तिको एउटा समुच्च नाम हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0