पोखरा २४, फागुन । लुम्बिनी प्रदेशको संसदीय राजनीतिमा यसपटक अभूतपूर्व र नाटकीय परिवर्तन देखिएको छ, जहाँ नवोदित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परम्परागत शक्ति सन्तुलनलाई पूर्ण रूपमा भत्काउँदै २६ मध्ये २१ निर्वाचन क्षेत्रमा सानदार जित हासिल गरेको छ । यस ऐतिहासिक चुनावी परिणामले लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये अधिकांशमा रास्वपाको वर्चस्व स्थापित गरिदिएको छ भने दशकौँदेखि जरा गाडेर बसेका नेपाली कांग्रेस र नेकपा एमाले जस्ता ठूला दलहरू खुम्चिन पुगेका छन् । निर्वाचनको अन्तिम नतिजा अनुसार रास्वपाले २१ सिट जित्दा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र/नेकपा) ले समान २-२ सिटमा चित्त बुझाउनुपरेको छ भने प्रमुख प्रतिपक्षी नेकपा एमाले लुम्बिनी जस्तो आफ्नो बलियो आधार क्षेत्रमा केवल एक सिटमा सीमित भएको छ । रास्वपाको यो आँधीले विशेषगरी रूपन्देही, दाङ, नवलपरासी पश्चिम, गुल्मी र बर्दिया जस्ता धेरै निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा ‘क्लिन स्विप’ गरेको छ, जसले नेपालको पछिल्लो राजनीतिक मनोविज्ञानमा आएको ठूलो बदलावलाई सङ्केत गर्दछ ।
यस निर्वाचनको सबैभन्दा चर्चाको विषय प्रदेशका ‘हेभिवेट’ तथा प्रभावशाली नेताहरूको लज्जास्पद पराजय बनेको छ । एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, अर्का उपाध्यक्ष गोकर्ण विष्ट, महासचिव शङ्कर पोखरेल र प्रभावशाली नेता प्रदीप ज्ञवाली जस्ता दिग्गजहरू रास्वपाका उम्मेदवारसँग भारी मतान्तरले पराजित भएका छन् । त्यसैगरी नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठौर, प्रदेश सभापति अमरसिंह पुन, र डा. गोविन्द पोखरेल जस्ता स्थापित अनुहारहरूले पनि जनताको विश्वास जोगाउन सकेनन् । जनता समाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ल र नेकपाका पूर्वमन्त्री सोमप्रसाद पाण्डेको हारले पनि लुम्बिनीमा पुराना दलहरूप्रतिको चरम वितृष्णालाई उजागर गरेको छ । रास्वपाले नवलपरासी पश्चिमका दुवै क्षेत्र, रूपन्देहीका पाँचै क्षेत्र, गुल्मीका दुवै क्षेत्र, दाङका तीनै क्षेत्र र बर्दियाका दुवै क्षेत्रमा क्लिन स्विप गर्दै नयाँ राजनीतिक शक्ति सन्तुलन कायम गरेको छ ।
जिल्लागत विवरण हेर्दा रूपन्देही क्षेत्र नम्बर २ मा रास्वपाका सुलभ खरेलले ५६ हजार ५५० मत प्राप्त गरी एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ४४ हजार ४८९ को विशाल मतान्तरले पराजित गरे, जुन यस निर्वाचनकै सबैभन्दा ठूलो उलटफेर मानिएको छ । पौडेलले केवल १२ हजार ८६१ मतमा चित्त बुझाउनुपरेको छ । रूपन्देही-१ मा रास्वपाका महामन्त्री सुनिल लम्साल ५४ हजार ८४५ मतका साथ विजयी भएका छन् भने क्षेत्र नम्बर ३ मा डा. लेखजङ थापाले ५८ हजार ८१४ मत ल्याएर ५० हजारभन्दा बढीको मतान्तर कायम गरेका छन् । रूपन्देही-४ मा कन्हैया बनियाँ र क्षेत्र नम्बर ५ मा तौफिक अहमद खानले रास्वपाको झन्डा फहराएका छन् । खानले एमालेका खिमलाल भट्टराईलाई २५ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् । दाङमा पनि रास्वपाको पकड उत्तिकै बलियो देखियो, जहाँ क्षेत्र नम्बर २ मा रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले एमाले महासचिव शङ्कर पोखरेललाई २८ हजार २७५ मतान्तरले पराजित गर्दै ४३ हजार ५५७ मत प्राप्त गरे । दाङ-१ मा देवराज पाठक र दाङ-३ मा कमल सुवेदीले पनि फराकिलो मतान्तरसहित जित निकालेका छन् ।
गुल्मीमा पनि रास्वपाको प्रभाव उत्तिकै सशक्त देखियो । क्षेत्र नम्बर १ मा रास्वपाका सागर ढकालले २९ हजार ६४२ मत प्राप्त गरी एमालेका प्रदीप ज्ञवालीलाई पराजित गरे भने क्षेत्र नम्बर २ मा गोविन्द पन्थीले एमालेका गोकर्ण विष्टलाई ५६१ मतान्तरले पन्छाउँदै जित हासिल गरे । नवलपरासी पश्चिम-१ मा रास्वपा प्रवेश गरेका विक्रम खनालले अर्बपति एवं कांग्रेस नेता विनोद चौधरीलाई ३५ हजार मतान्तरले पराजित गरे । नवलपरासी पश्चिम-२ मा नगेन्द्र गुप्ता ४४ हजार १३८ मतका साथ निर्वाचित भएका छन् । कपिलवस्तुमा रास्वपाले दुई सिट जित्दा मोहन आचार्य र विक्रमसिंह थापा विजयी भएका छन् भने पाल्पा-२ मा माधवबहादुर थापा, अर्घाखाँचीमा हरिप्रसाद भुसाल, प्युठानमा सुशान्त वैदिक र बाँकेका दुई क्षेत्रमा सुरेशकुमार चौधरी र खगेन्द्र सुनारले जित निकालेका छन् । बर्दियामा ठाकुरसिंह थारु र श्रीधर पोखरेलले रास्वपालाई ऐतिहासिक जित दिलाएका छन् ।
ठूला दलहरूको विरासत जोगिएको केही सिमित क्षेत्रहरूमा रोल्पा र रुकुम पूर्व रहेका छन्, जहाँ नेकपाले आफ्नो साख बचाएको छ । रुकुम पूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मतका साथ विजयी भएका छन् भने रोल्पामा वर्षमान पुन २७ हजार ४६० मतसहित निर्वाचित भएका छन् । नेपाली कांग्रेसले पाल्पा-१ मा सन्दीप राना र कपिलवस्तु-३ मा अभिषेकप्रताप शाहमार्फत दुई सिटमा आफ्नो उपस्थिति जनाएको छ । पाल्पा-१ मा ३१ वर्षपछि कांग्रेसले एमालेको गढ भत्काउन सफल भएको हो । एमालेले भने बाँके-२ मा मोहम्मद इश्तियाक राईमार्फत केवल एक सिटमा जित निकालेको छ, जो मनोनयन दर्ताको अघिल्लो दिन मात्र एमाले प्रवेश गरेका थिए । समग्रमा लुम्बिनी प्रदेशको यो नतिजाले नेपाली राजनीतिमा परम्परागत दलहरूको कार्यशैलीप्रति जनताको तीव्र असन्तुष्टि र नयाँ विकल्पप्रतिको भरोसालाई स्पष्ट रूपमा प्रमाणित गरेको छ, जसले आगामी दिनमा केन्द्रीय सत्ता समीकरण र राजनीतिक दिशामा दीर्घकालीन असर पार्ने निश्चित देखिन्छ ।


































