पोखरा ११, फागुन । पाकिस्तानले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा रहेका सातवटा ‘आतंकवादी अड्डा र शिविर’ माथि शक्तिशाली हवाई आक्रमण गरेपछि दक्षिण एसियाका यी दुई छिमेकी मुलुकबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ । अफगानिस्तानका पूर्वी प्रान्त नान्घार र दक्षिणपूर्वी प्रान्त पक्तिकामा भएका यी हमलाहरूमा दर्जनौँ सर्वसाधारण नागरिकले ज्यान गुमाएका छन् । नान्घार प्रान्तमा एउटा आवासीय घरमाथि भएको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने पक्तिका प्रान्तमा एउटा मदरसालाई लक्षित गरी बमबारी गरिएको रिपोर्टहरूले जनाएका छन् । पाकिस्तानी सूचना तथा प्रसारण मन्त्रालयले एक आधिकारिक बयान जारी गर्दै गोप्य सूचनाका आधारमा सीमा क्षेत्रमा लुकेर बसेका आतंकवादी समूहहरूलाई लक्षित गरी यो कारबाही गरिएको दाबी गरेको छ । पाकिस्तानका अनुसार तेहरिक-आई-तालिबान पाकिस्तान (टीटीपी) र इस्लामिक स्टेट खोरसान प्रोभिन्स (आईएसकेपी) सँग आबद्ध समूहहरूले पाकिस्तानी भूभागमा हालै गरेका आत्मघाती आक्रमणहरूको जवाफमा यो सैन्य कदम चालिएको हो ।

पाकिस्तानी अधिकारीहरूले अफगान तालिबान सरकारलाई आफ्नो भूमिमा रहेका आतंकवादी समूहहरूविरुद्ध कडा कदम चाल्न पटक-पटक आग्रह गर्दा पनि कुनै प्रभावकारी कारबाही नभएपछि बाध्य भएर हवाई हमला गर्नुपरेको आरोप लगाएका छन् । अर्कोतर्फ, अफगानिस्तानको सत्तारुढ तालिबान सरकारले यस घटनाको कडा शब्दमा निन्दा गर्दै उचित समयमा कडा जवाफ दिने चेतावनी दिएको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै अफगान सीमा मिचेको र निर्दोष महिला तथा बालबालिकाको हत्या गरेको आरोप लगाउनुभएको छ । रक्षा मन्त्रालयका प्रवक्ता अन्यातुल्लाह ख्वारिज्मीले यसलाई अफगानिस्तानको राष्ट्रिय सार्वभौमिकतामाथिको गम्भीर आक्रमण भन्दै यसको योजनाबद्ध प्रतिवाद गरिने बताउनुभएको छ । यसैबीच, तालिबान सरकारले काबुलस्थित पाकिस्तानी राजदूतलाई बोलाएर औपचारिक विरोधपत्र बुझाएको छ र यस्ता उत्तेजक आक्रमणबाट उत्पन्न हुने कुनै पनि नकारात्मक परिणामको जिम्मेवारी पाकिस्तानले नै लिनुपर्ने स्पष्ट पारेको छ । यस घटनाले यस क्षेत्रको भूराजनीतिक स्थिरतामा नयाँ चुनौती थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0