पोखरा ५, फागुन । नेपाली कांग्रेसले ‘वैधानिक विद्रोह’ मार्फत आफ्नो नेतृत्वमा पुस्तान्तरण मात्र नगरेर नीतिगत परिवर्तनको समेत स्पष्ट संकेत देखाएको छ । ८० वर्षको लामो इतिहास बोकेको यस पुरानो पार्टीले ४९ वर्षीय गगनकुमार थापालाई सभापति चयन गरेसँगै आफूलाई ‘जेनजी विद्रोह’ र युवा पुस्ताको भावना आत्मसात् गर्ने पहिलो दलका रूपमा उभ्याएको छ । महामन्त्री छँदादेखि नै राजनीतिक स्थिरता, सुशासन, सुरक्षा र परराष्ट्र नीतिका सवालमा प्रखर बहस चलाउँदै आएका थापाले पछिल्लो समय गण्डकी क्षेत्रबाट दिएका सन्देशहरूले पार्टी अब परम्परागत ढर्राबाट बाहिर निस्कन तयार रहेको पुष्टि गर्दछन् । नेपालको अस्थिर राजनीतिबाट वाक्क भएका बौद्धिक तथा युवा पुस्ताले खोजेको इमानदारी र प्रतिबद्धतालाई सम्बोधन गर्न कांग्रेसले आफ्नो राष्ट्रिय कार्यभारलाई नयाँ ढंगले परिभाषित गर्न खोजेको देखिन्छ ।

वर्तमान राजनीतिको मुख्य चुनौतीका रूपमा रहेको ‘अस्थिरता’ अन्त्य गर्न कांग्रेसले संविधान संशोधनको मुद्दालाई केन्द्रमा राखेको छ । ३ असोज २०७२ मा जारी भएको संविधानको मिश्रित निर्वाचन प्रणालीका कारण कुनै पनि दलले स्पष्ट बहुमत पाउन नसक्ने र सधैं ‘त्रिशंकु संसद्’ बन्ने अवस्था रहेकाले यसमा सुधार आवश्यक रहेको पार्टीको ठहर छ । थ्रेसहोल्ड बढाउने, प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्ने, समानुपातिक प्रणालीलाई राष्ट्रिय सभामा मात्र सीमित गर्ने र प्रतिनिधिसभाको आकार घटाउने जस्ता विषयमा अहिले कांग्रेसभित्र सघन बहस सुरु भएको छ । प्रादेशिक संरचनालाई खारेज गर्नुभन्दा पनि त्यसलाई थप उत्तरदायी र अधिकारसम्पन्न बनाउँदै संघीय सरकारको छायाबाट मुक्त गराउने लक्ष्य थापा नेतृत्वको कांग्रेसले लिएको छ । निर्वाचन प्रणालीमा सुधार नगरेसम्म सरकारहरू सधैं अस्थिर रहने र त्यसको असर विकासमा पर्ने भएकाले संविधान संशोधन नै अहिलेको अनिवार्य सर्त बनेको छ ।

सुशासन र समुन्नतिका सन्दर्भमा कांग्रेसले आफूलाई अन्य दलभन्दा भिन्न देखाउने प्रयास गरेको छ । गत भदौ २३ गते सडकमा ओर्लिएको युवा पुस्ताको आक्रोशले पुराना नेताहरूको कार्यशैलीलाई चुनौती दिएको पृष्ठभूमिमा कांग्रेसले नेतृत्व परिवर्तन गरेर सकारात्मक सन्देश दिएको छ । नेकपा एमाले र माओवादी केन्द्रले पुरानै अनुहार र कार्यशैलीलाई निरन्तरता दिइरहँदा कांग्रेसले भने भ्रष्टाचारको आरोप लागेका आफ्ना प्रभावशाली नेताहरू बालकृष्ण खाँण र मोहनबहादुर बस्नेत जस्ता व्यक्तिहरूलाई चुनावी टिकटबाट वञ्चित गरेर सुशासनको व्यावहारिक अभ्यास सुरु गरेको छ । ‘स्टन्ट’ को राजनीति र पूरा हुन नसक्ने रेल वा पानीजहाजका सपना बाँड्नुको सट्टा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा जस्ता जनताका आधारभूत आवश्यकतामा ‘संकल्प’ गर्ने बाटो कांग्रेसले रोजेको छ । यसले पार्टीभित्रको गुटगत राजनीति भत्काउन र गैरकांग्रेस बौद्धिक समुदायको समेत विश्वास जित्न मद्दत पुग्ने देखिन्छ ।

सुरक्षा र परराष्ट्र नीतिका क्षेत्रमा पनि बदलिएको कांग्रेसले अत्यन्तै संवेदनशील भएर अघि बढ्ने संकेत दिएको छ । राष्ट्रिय सुरक्षा नीतिमा रहेका छिद्रहरू टाल्दै सीमा अतिक्रमण र अवाञ्छित वैदेशिक चलखेल रोक्नका लागि पार्टीले सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ । परराष्ट्र नीतिका सम्बन्धमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राखेको ‘परराष्ट्र नीति दलको होइन राष्ट्रको हुनुपर्छ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै असंलग्न परराष्ट्र नीतिको जगमा भारत र चीन दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम राख्ने नीति लिइएको छ । यसका साथै, आजको डिजिटल युगमा ‘डिपफेक’ र एआईमार्फत फैलाइने भ्रमपूर्ण प्रचारबाट जोगिनु कांग्रेसका लागि नयाँ चुनौती बनेको छ । तथ्यमा आधारित घोषणापत्र र ‘अबकी वार, सय पार’ को नारासहित आगामी निर्वाचनमा होमिएको कांग्रेसले गगन थापाको नेतृत्वमा मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक समृद्धिको मार्गमा डोहोर्‍याउने दृढता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0