पोखरा २५, बैशाख। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा नेपालका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण सार्वजनिक गरेको छ। विभागले विश्व मौसम संगठनअन्तर्गत क्षेत्रीय जलवायु केन्द्रहरूको विश्लेषण, दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ)को निष्कर्ष तथा एल निनो र इन्डियन ओसन डाइपल (आईओडी) को वर्तमान अवस्थालाई आधार बनाएर मनसुनको पूर्वानुमान सार्वजनिक गरेको हो। विभागका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार आगामी १८ जेठदेखि १४ असोजसम्मको अवधिमा देशका धेरैजसो क्षेत्रमा वर्षा सरदरभन्दा कम रहने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको छ भने तापक्रम सरदरभन्दा बढी रहने संकेत देखिएको छ।
विभागले कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना सबैभन्दा बढी रहेको जनाएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पश्चिमी भाग र कोशी प्रदेशका मध्य भूभागमा पनि कम वर्षाको सम्भावना देखिएको छ। कर्णाली र कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने अनुमान गरिएको छ। विभागका अनुसार अधिकतम तथा न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा माथि रहने सम्भावना उच्च रहेको छ, जसका कारण गर्मी अझै बढ्न सक्ने अनुमान गरिएको छ।
मौसमविद्हरूका अनुसार प्रशान्त महासागरमा विकसित भइरहेको एल निनो अवस्थाले दक्षिण एसियाली मनसुनलाई कमजोर बनाउने सम्भावना बढाएको छ। हाल आईओडी तटस्थ अवस्थामा भए पनि मनसुनको अन्त्यतिर धनात्मक हुन सक्ने अनुमान गरिएको छ। जलवायु अध्येता तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले जुन महिनाको मध्यसम्म सामान्य वर्षा भए पनि त्यसपछि क्रमशः सुक्खा अवस्था बढ्दै जाने सम्भावना रहेको बताएका छन्। उनका अनुसार जुलाई महिनामा सामान्यतया धेरै वर्षा हुने भए पनि यस पटक अपेक्षाकृत कम पानी पर्न सक्ने संकेत देखिएको छ। यद्यपि सेप्टेम्बरको अन्त्यतिर आईओडी धनात्मक भएमा दशैं–तिहारतिर पुनः मनसुन सक्रिय हुन सक्ने सम्भावना रहेको उनले बताएका छन्।
गत वर्ष विभागले सरदरभन्दा बढी वर्षाको अनुमान गरे पनि अधिकांश स्थानमा अपेक्षाकृत कम वर्षा भएको थियो। विशेषगरी मनसुन बाहिरिने समयमा पूर्वी नेपालमा ठूलो वर्षा हुँदा जनधनको क्षति भएको थियो। विभागले यस वर्षको पूर्वानुमानले कृषि, जलस्रोत, स्वास्थ्य तथा विपद् व्यवस्थापन क्षेत्रमा समयमै तयारी गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।































