पोखरा, ११ असार। बागलुङको ताराखोला गाउँपालिकाले गुरिल्ला पदमार्ग निर्माण गरी पर्यटक भित्र्याउने तथा पर्यटन प्रवद्र्धनमा जोड दिने नीति बनाएको छ। गाउँपालिकाका अध्यक्ष धनबहादुर बिकले सोमबार प्रस्तुत गरेको नीतिमा पर्यटक आकर्षणका लागि पदमार्ग निर्माणलाई प्राथमिकता दिइएको जानकारी दिएका छन्। साथै, स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याएर आयआर्जन बढाउने तथा किसानलाई व्यवसायिक बनाउन जोड दिइएको छ।

नीतिले पालिकाभित्र रहेका साना तथा मझौला उद्योगलाई समेट्दै स्थानीयलाई रोजगारीका अवसर दिनुपर्ने लक्ष्य राखेको छ। अल्लो कपडा उद्योग, हातेकागज उद्योग र कृषिजन्य उत्पादनलाई बजारमा जोड्न पालिकाले अग्रसरता लिनेछ। स्थानीय उत्पादन जस्तै स्लेट ढुंगा लगायतका सामाग्रीलाई पनि प्रदेश र संघ तहसँग समन्वय गरी बजार विस्तार गर्ने नीति बनाइएको छ।

रोजगारी सृजना गर्न विश्व श्रम रोजगार बैंक स्थापना भई स्थानीय स्तरमै अधिकतम श्रमिकलाई रोजगार दिइने व्यवस्था गरिएको छ। उत्पादनमा आधारित अनुदान प्रणालीलाई प्राथमिकता दिँदै वितरणमुखी अनुदानलाई निरुत्साहित गर्ने नीति कार्यान्वयन गरिनेछ। पशुपन्छी उपचारका लागि गाउँपालिका स्तरमा आधारभूत प्रयोगशाला स्थापना गर्ने योजना पनि समावेश गरिएको छ।

यसैगरी, आधारभूत स्वास्थ्य सेवा सुधार, आवासीय विद्यालय निर्माण, ज्येष्ठ नागरिक र अशक्तको स्वास्थ्य सेवा, सामुदायिक वनको संरक्षण तथा पर्यटन विकासलाई समेत नीति दस्तावेजमा समेटिएको छ। स्थानीय भाषा माध्यमबाट शिक्षण कार्यको सुरुवात र पारदर्शी शासनका लागि सूचनाको पहुँच बढाउने नीति पनि प्रमुख रहेको बताइएको छ।

अध्यक्ष बिकका अनुसार, यी नीतिहरूले ताराखोलाको समग्र विकासमा टेवा पुर्‍याउँदै उत्पादन र रोजगारीमा वृद्धि गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0