पोखरा, ११ असार। बागलुङ नगरपालिकाले कृषि, स्वरोजगार र आत्मनिर्भरतालाई केन्द्रमा राख्दै आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरप्रमुख बसन्तकुमार श्रेष्ठले सोमबार नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिलाई अन्त्य गर्न ‘करार खेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिने घोषणा गरेका छन्।

श्रमशक्ति विदेशिएसँगै गाउँमा खेतीयोग्य जमिन बाँझो बन्न थालेको र उत्पादनमा गिरावट आएको उल्लेख गर्दै करार खेतीले उत्पादन बढाउनुका साथै कृषिमा व्यवसायिकता ल्याउने श्रेष्ठको दाबी छ। बाँदर प्रभावित क्षेत्रलाई मध्यनजर गर्दै टिमुर, ओखर, कागती, अदुवा, बेसार, मौरीपालन तथा पशुपालनलाई प्रवर्द्धन गरिनेछ। बाँदर नियन्त्रणमा प्रविधिको प्रयोग गरिने पनि जनाइएको छ।

नगरपालिकाले कृषि कलेज स्थापनाको पहल गर्ने, च्याउ, सुन्तला, ओखर तथा तरकारी पकेट विस्तार गर्ने, कृषि बजार स्थापना गर्ने, किसान र कृषि व्यवसायीको सहकार्यमा बीमा कार्यक्रम ल्याउने नीति लिएको छ। जैविक खेतीलाई प्रोत्साहन दिइनेछ भने गाँजा र भाँगो खेतीका लागि संघ–प्रदेश सरकारसँग समन्वय गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।

‘एक घर एक सिप’ अभियानमार्फत हरेक घरबाट कम्तीमा एक जनालाई स्वरोजगार बनाउने लक्ष्यसहित आत्मनिर्भर बागलुङ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। वैदेशिक रोजगारीबाट फर्किएकालाई बिनाधितो सहुलियत ऋण दिने र ‘श्रम बैंक’ स्थापना गरिने नीति लिएको छ। लगानी सम्मेलन, होमस्टे सम्भाव्यता अध्ययन, घुम्न जाउँ बागलुङ कार्यक्रम र स्थानीय मदिराको गुणस्तरीकरण र ब्राण्डिङमा समेत नगरपालिकाले ध्यान केन्द्रित गर्नेछ।

शिक्षा क्षेत्रमा ‘जहाँ विद्यार्थी त्यहाँ शिक्षक’ अभियान प्रभावकारी बनाइनेछ। विपन्न बालबालिकाका लागि छात्रवृत्ति कोष स्थापना हुने र प्रत्येक वडाबाट एक विद्यार्थीलाई कृषिमा पूर्ण छात्रवृत्ति दिइनेछ। दलित समुदायका लागि विशेष सिप विकास कार्यक्रम सञ्चालन गरिने र ‘एक वडा एक नमुना पूर्वाधार’ नीति निरन्तरता पाउने भएको छ। नगरका दीर्घकालीन पूर्वाधार समस्या समाधानका लागि ‘पूर्वाधार एम्बुलेन्स’समेत सञ्चालन गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0