पोखरा, ११ असार। बागलुङको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कृषि, पशुपालन र शिक्षालाई प्राथमिकता दिँदै ५८ करोड ६९ लाख ८३ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १७औं गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष तेज बहादुर थापाले प्रस्तुत गरेको बजेटले आर्थिक, सामाजिक र पूर्वाधार विकासलाई सँगसँगै अघि बढाउने लक्ष्य लिएको छ।

बजेट अनुसार सर्शत (चालु) तर्फ ३१ करोड १२ लाख, सशर्त (पूँजीगत)तर्फ १ करोड ४० लाख, चालु खर्चका लागि ७ करोड ३० लाख, पूर्वाधार विकासका लागि २ करोड १९ लाख, र सामाजिक विकासतर्फ ३ करोड २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

गाउँपालिकाका ८ वडामा तीन करोड ७० लाख बजेट विनियोजन गरिएको छ भने गौरवको योजना अन्तर्गत दुई ठूला योजनाका लागि १ करोड रुपैयाँ छुट्याइएको छ। त्यस्तै संघीय र प्रदेश सरकारको समपूरक अनुदानमार्फत ढोलकाटेचोक, तंग्रामामा वडा कार्यालय भवन निर्माण र सात्लेस–धम्जा देउराली सडक स्तरोन्नतिको लागि १ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ।

आर्थिक विकासका क्षेत्रहरू—कृषि, पर्यटन, उद्योग, वाणिज्य, सहकारी र वित्तीय क्षेत्रमा समेत १ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ। बजेटले गाउँपालिकाको समग्र विकासलाई लक्षित गर्दै कृषि र पशुपालनमा उत्पादनमूलक कार्यक्रम ल्याउने तयारी गरिएको जनाइएको छ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी सिर्जना र सामाजिक न्यायलाई सन्तुलित रूपमा समेट्ने गरी ल्याइएको यस बजेटले काठेखोलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0