पोखरा, ११ असार। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पछिल्लो समय पत्रकारितामा देखिएको छाडापनप्रति चिन्ता व्यक्त गर्दै तथ्यमा आधारित र प्रमाणसहितको समाचार लेखनमा जोड दिएका छन्। मंगलबार पोखरामा आयोजित ‘प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक’ विषयक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालमा व्यक्त हुने रिसइबी र अफवाहले मुख्यधारको पत्रकारिता नै प्रभावित बनिरहेको बताउँदै गम्भीर आपत्ति जनाए।

उनले प्रेस स्वतन्त्रताको नाममा निराधार समाचार लेखिन थालेको भन्दै यस्ता प्रवृत्तिले लोकतन्त्रलाई नै खतरा पुर्याउन सक्ने चेतावनी दिए। “पत्रकारलाई लेख्ने अधिकार छ, तर त्यो तथ्यमा आधारित हुनुपर्छ। मन लाग्यो भनेर लेखिने समाचारले व्यवस्थामाथि खतरा ल्याउँछ,” मुख्यमन्त्री पाण्डेको स्पष्ट भनाइ थियो।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले चार वर्षदेखि बन्द अवस्थामा रहेको मिडिया काउन्सिलसम्बन्धी विधेयक पुनः अघि सारेको जानकारी दिंदै पत्रकारिता नियमन केवल राज्यको होइन, पत्रकारहरूकै पनि साझा जिम्मेवारी भएको बताए। उनले पत्रकारिता पेसामा प्रमाणको खोजी अनिवार्य रहेको उल्लेख गर्दै, “सामाजिक सञ्जालमा केही लेखियो, अनि भोलिपल्ट मिडियामा समाचार आयो भन्ने प्रवृत्तिले सही र गलत छुट्याउने आधार नै हराउँछ।”

प्रशासनिक खर्चबारे गलत आँकडा सार्वजनिक गर्ने मिडियाको आलोचना गर्दै उनले भने, “एउटा मिडियाले बीस लाख खर्च भयो भन्यो, तर त्यो आधा पनि थिएन। यदि खोज्न चाहनुहुन्छ भने सूचनाको हक प्रयोग गर्नुहोस्, कार्यालयमा आउनुहोस्, प्रमाण सङ्कलन गर्नुहोस् अनि मात्र समाचार लेख्नुहोस्।”

कार्यक्रमको समापनतिर उनले लोकतन्त्रको सुरक्षाका लागि जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याउँदै चेतावनी पनि दिए। “हामीले ल्याएको लोकतन्त्र सजिलै गुम्न सक्छ,” उनले भने, “पत्रकारहरू पहिलो शिकार बन्न सक्नुहुन्छ। तपाईंहरूको कलम भाँचिएपछि मात्र हाम्रो मुख थुनिन्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0