पोखरा, ११ असार। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत जोमसोमस्थित इलाका संरक्षण कार्यालयले मुस्ताङको थासाङ गाउँपालिका–३ मा पर्ने लेते कालोपानीदेखि धुलो डाँडासम्मको पर्यटकीय पदमार्गको स्तरोन्नति गरेको छ। चालु आर्थिक वर्षको ‘नयाँ पदमार्ग पहिचान तथा स्तरोन्नति’ कार्यक्रम अन्तर्गत विनियोजित १५ लाख रुपैयाँ बजेटबाट करिब ३५५ मिटर लम्बाइको पदमार्ग स्तरोन्नति गरिएको हो।
यस पदमार्गको सुधार कार्य संरक्षण क्षेत्र व्यवस्थापन समिति लेतेको समन्वयमा गरिएको हो। एक्यापका प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीका अनुसार, यसअघि गोरेटोको रूपमा रहेको पदमार्गलाई फराकिलो बनाउँदै ढुंगा बिछ्याउने, फलामे रेलिङ जडान गर्ने तथा जोखिमयुक्त स्थानहरूमा सुरक्षा पर्खाल निर्माण गरिएका छन्।
धुलो डाँडा–जोमसोम क्षेत्र गण्डकी प्रदेशको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो। सोही कारण आन्तरिक पर्यटकलाई लक्षित गर्दै पदमार्गको पहिचान र प्रवद्र्धनका लागि यो स्तरोन्नति गरिएको एक्यापको भनाइ छ। लेते कालोपानीदेखि धुलो डाँडा पुग्न पैदल यात्रा गर्दा करिब ४५ मिनेट लाग्ने जानकारी दिइएको छ।
पदमार्गको यात्राका क्रममा हरियाली वनजंगल, कालिगण्डकी करिडोर, आसपासका रमणीय डाँडा–काँडा, लालीगुराँसको जंगल र चराचुरुंगीहरूको अवलोकन गर्न सकिने भएकाले यसलाई छोटो दूरीको आकर्षक पदमार्गका रूपमा विकास गर्ने योजना लिइएको छ।
एक्यापका कार्यालय प्रमुख राजेश गुप्ताले पदमार्ग स्तरोन्नतिसँगै अन्य पर्यटकीय मार्गहरूको मर्मत, सरसफाइ र साइन पोष्टिङ जस्ता कार्यसमेत जारी रहेको जानकारी दिए। अन्धाधुन्ध सडक विस्तारले पुराना पदमार्ग मासिँदै गएको सन्दर्भमा यो प्रयासले पदयात्रा पर्यटनलाई पुनः जागृत गराउने विश्वास लिइएको छ।





























