पोखरा, १० असार। नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा इञ्जिनियर रोहित पौडेललाई नयाँ सदस्यका रूपमा नियुक्त गरिएको छ। प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सोमबार पौडेललाई उद्योग, वाणिज्य तथा वित्त क्षेत्रको तर्फबाट सदस्य नियुक्त गरेका हुन्।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ निवासी पौडेल वित्त र परियोजना व्यवस्थापनमा स्नातकोत्तर हुन्। उनले काठमाडौँ विश्वविद्यालयबाट उक्त विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। हाल उनी पेसिडेन्सियल ग्राजुएट स्कुलमा परियोजना व्यवस्थापन विषयमा प्राध्यापन गर्दै आएका छन्।
पौडेलसँग निर्माण र जलविद्युत् क्षेत्रको झण्डै एक दशक लामो कार्यानुभव रहेको छ। यस अवधिमा उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परियोजनामा संलग्न भई प्राविधिक तथा व्यवस्थापकीय भूमिका निर्वाह गरेका छन्। नेपालको ऊर्जा तथा जलस्रोत क्षेत्रको प्राविधिक, वित्तीय र नीतिगत पक्षलाई राम्ररी बुझेका पौडेलको नियुक्तिसँगै प्राधिकरणले भविष्यका योजनाहरूमा थप सुदृढता ल्याउने अपेक्षा गरिएको छ।
उनको नियुक्तिपछि प्राधिकरणको सञ्चालक समितिमा बहुपक्षीय विशेषज्ञताको सन्तुलन कायम हुने विश्वास व्यक्त गरिएको छ। मन्त्रालयले पौडेलको अनुभव र दक्षता प्राधिकरणको सञ्चालन, नीति निर्माण र परियोजना कार्यान्वयनमा योगदानकारी हुने विश्वाससमेत व्यक्त गरेको छ।





























