पोखरा, १० असार। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त चार देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा जनगणतन्त्र बङ्गलादेश, गणतन्त्र दक्षिण अफ्रिका, गणतन्त्र एङ्गोला र गणतन्त्र अर्जेन्टिनाका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति पौडेललाई पेश गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार जनगणतन्त्र बङ्गलादेशका आवासीय राजदूत मो शाफिकुर रहमान, गणतन्त्र दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत अनिल सूकलाल, गणतन्त्र एङ्गोलाका गैरआवासीय राजदूत क्लेमेन्टे पेड्रो फ्रान्सिस्को कामेन्ह र गणतन्त्र अर्जेन्टिनाका गैरआवासीय राजदूत मारिनो अगुस्टिनले आ–आफ्नो देशको तर्फबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको पनि उपस्थिति थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसबाट राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सम्मानपूर्वक सवार गराइएको थियो। यस्तो सम्मान विदेशी कूटनीतिक प्रतिनिधिहरूप्रति नेपाल सरकारको परम्परागत आतिथ्य संस्कृतिको अभिन्न हिस्सा हो।

राष्ट्रपतिसमक्ष प्रमाणपत्र पेश गरेपछि ती राजदूतहरूले नेपालसँगको द्विपक्षीय सम्बन्ध थप मजबुत पार्न र आपसी सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले समेत मित्रराष्ट्रहरूसँग नेपालको सम्बन्ध सुदृढ र मैत्रीपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा अझ सघन सहयोगको अपेक्षा व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0