पोखरा, १० असार। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा र भैरहवा विमानस्थल निर्माणमा भएको भनिएको अनियमितता छानबिनको प्रक्रियामै रहेकाले मन्त्रालयबाट हाल कुनै कार्यवाही अघि बढाउन नसकिने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री पाण्डेले लेखा समितिले गरेको छानबिन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइसकेको भन्दै अब कारबाहीको जिम्मेवारी अख्तियारकै रहेको उल्लेख गरे।
माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पोखरा विमानस्थल निर्माणमा व्यापक भ्रष्टाचार भएको भन्दै लेखा समितिको प्रतिवेदन अनुसार कारबाही किन नगरेको भनी प्रश्न उठाएका थिए। जवाफमा मन्त्री पाण्डेले भने, “पोखरा विमानस्थलका भ्रष्टाचार सम्बन्धित कुरा लेखा समितिबाट अख्तियारमा गएको छ। अख्तियारले अगाडि के गरेको छ हामीलाई थाहा छैन। समितिले मन्त्रालयलाई केही गर्नु भनेको छैन। मन्त्रालयले गर्नुपर्ने काम उचित समयमा गर्छ, अहिले छानबिनकै दायरामै रहेकोले हामीले केही गर्ने स्थिति छैन।”
मन्त्री पाण्डेले मन्त्रालय अनुसन्धान प्रकृयामा अवरोध पुर्याउने पक्षमा नरहेको र कानुनी प्रक्रिया अनुसार नै अगाडि बढ्नुपर्ने तर्क प्रस्तुत गरे। उनले जिम्मेवार निकायबाट निष्पक्ष छानबिनको अपेक्षा गरिएको स्पष्ट पार्दै मन्त्रालय आफैंले अनुसन्धानको काम अघि नबढाउने बताए।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लागतका हिसाबले शंकास्पद खर्च, गुणस्तर मापदण्डमा कमजोरी, र प्रक्रिया उल्लंघन जस्ता विषयहरू विगतदेखि नै विवादमा परेका छन्। सार्वजनिक लेखा समितिले यसअघि निर्माण प्रक्रियामा भ्रष्टाचारको आशंका उठाउँदै विस्तृत प्रतिवेदन तयार गरी अख्तियारमा पठाएको थियो। अहिले सोही प्रतिवेदनमाथि अख्तियारको अनुसन्धान प्रक्रिया चलिरहेको छ।
यसैबीच, भैरहवा विमानस्थलमा समेत प्राविधिक कमजोरी र लागत फुलाइएका आरोप लगिँदै आएका छन्। तर, दुबै विमानस्थल निर्माणमा प्रत्यक्ष संलग्न मन्त्रालयले कार्यान्वयन पक्षमा चासो नदेखाएको भन्दै आलोचना बढिरहेको छ।































