पोखरा, १० असार। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट एकैदिन नीति तथा कार्यक्रमसहित सार्वजनिक गरेको छ। तर, बजेट सार्वजनिक गर्ने दिनको हतारो र त्यही दिन मेयर धनराज आचार्यको चीन प्रस्थानले बजेट प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ। सार्वजनिक बजेटमा थुप्रै त्रुटिहरू भेटिएपछि सामाजिक सञ्जालदेखि नागरिक तहमा मेयरको आलोचना चुलिएको छ।

गत महिना मात्र चीन भ्रमण गरेर फर्किएका मेयर आचार्य फेरि एक महिनामै पुनः भ्रमणमा जानु, त्यो पनि बजेट घोषणा गर्ने दिनमै हतारिनु, आलोचनाको मुख्य विषय बनेको छ। स्थानीय सरकार सञ्चालन ऐनअनुसार बजेट जेठ मसान्तसम्ममा तयारी भइसकेको हुनुपर्छ भने असार १० भित्र सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको भए पनि यसपालि बजेट तयारीमै समय अभाव देखिएको छ।

महानगरपालिकाले आइतबार साँझ एकैदिन नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दा नगरसभामा तयारीको स्पष्ट अभाव देखियो। उपमेयर मञ्जुदेवी गुरुङ बजेट प्रस्तुत गरिरहँदा कर्मचारीले अंक जोडेर सच्याइरहेको दृश्य, पाना साटासाट र संख्यात्मक त्रुटिले बजेट निर्माणमा गम्भीर लापरवाही भएको पुष्टि गरिरहेको छ।

कार्यपालिका बैठक आइतबार दिउँसो मात्रै वडाहरूलाई दिने बजेटको सिलिङ टुंग्याउन सक्दा ढिलाइ भएको हो। बहुवर्षीय योजना भएका वडालाई ६० लाख र नभएका वडालाई ९० लाख थप गर्ने सहमतिमा ढिलोसम्झौता भएपछि कार्यक्रम हतार–हतारमा गरिएको हो। तर, नीति तथा कार्यक्रममा उल्लेख नभएका शीर्षकहरू बजेटमा समेटिनु, कृषि क्षेत्रजस्ता प्राथमिकता बजेटमा नपर्नु जस्ता विरोधाभासहरू बजेटको प्रामाणिकतामाथि प्रश्न उब्जाएको छ।

महानगरले चालु र पुँजीगत खर्चको वर्गीकरणसमेत नगरी प्रस्तुत गरेको बजेटमा स्रोत व्यवस्थापन पनि अव्यवहारिक देखिएको छ। संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदानमा कटौती आएको अवस्थामा करिब ३९ प्रतिशत हिस्सा आन्तरिक आयबाट बेहोर्ने योजनालाई कतिपयले असम्भवप्रायः भन्दै टिप्पणी गरेका छन्। ३ अर्ब २३ करोड ७२ लाख रुपैयाँ आन्तरिक स्रोतबाट संकलन गर्ने लक्ष्य राखिएको छ, जुन विगतको संकलन क्षमतालाई हेर्दा वास्तविकताविपरीत देखिएको छ।

यसैबीच मेयर आचार्यको लगातारको विदेश भ्रमण र महानगरको सुस्त कार्यशैलीलाई लिएर पोखरेली जनतामाझ निराशा बढ्दो छ। ‘पोखरा नबनाउने, विदेश डुल्ने’ भन्ने जनगुनासो पुनः चुलिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0