पोखरा, १० असार। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३१ अर्ब ९७ करोड ७९ लाख ९९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। गत असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले यो बजेट सार्वजनिक गरे। तर प्रदेशसभामा बजेटमाथिको छलफल केही तातिरहेको छ भने सांसदहरूले बजेट पुस्तिका च्यात्ने जस्ता अस्वाभाविक कार्यहरू समेत देखिएका छन्।
प्रदेश सभामा सोमबार भएको भौतिक पूर्वाधार मन्त्रालयको बजेट छलफलमा पूर्व भौतिक मन्त्री रेशमबहादुर जुग्जालीले बजेट समन्वयमा भएको असन्तुष्टिको कारण बजेट पुस्तिका च्याएका थिए। उनले म्याग्दी जिल्लामा भौतिक पूर्वाधार बजेट वितरणमा अन्याय भएको भन्दै आफ्नो व्यक्तिगत खर्चमा मन्त्रीहरूलाई म्याग्दी भ्रमण गराउने प्रस्ताव राखेका थिए। उनले भौतिक पूर्वाधार मन्त्रीलाई ‘म्याग्दीका लागि छुट्याइएको बजेट काटेर आफू र अर्का सांसदको दुई करोड पनि फिर्ता लैजानुस्’ भन्दै कडा आलोचना गरेका छन्।
यसअघि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढा पुनले समानुपातिक सांसदहरूलाई बजेट र योजना छनोटमा विभेद भएको आरोप लगाइन्। उनले सरकारलाई समानुपातिक सांसदहरूको योजना पनि उपयुक्त रूपमा व्यवस्था गर्न आग्रह गरिन्। कुसुम पुनले बजेट विनियोजन प्रक्रियामा पारदर्शिताको कमी र दलगत विभेद भएको भन्दै चिन्ता व्यक्त गरिन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका क्षेत्रका योजनामा ठूलो बजेट विनियोजन हुनु र मुस्ताङ जस्तो जिल्लाभरि कम बजेट पुग्नुले पनि निर्वाचन लक्षित बजेट बाँडफाँडको आरोपलाई बल पुर्याएको छ।
प्रस्तुत बजेट अनुसार कास्की जिल्लालाई सबैभन्दा बढी १ अर्ब ८४ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको छ भने मुस्ताङलाई १९ करोड ४१ लाख रुपैयाँ मात्र उपलब्ध गराइएको छ। प्रदेशसभामा बजेट विवाद अझै जारी छ र यसले आगामी दिनमा पनि राजनीतिक तिक्तता बढाउने सम्भावना देखिएको छ।





































