पोखरा, १० असार। विश्व संगीत दिवसको अवसरमा पोखरास्थित जोजिजू म्यूजिक सेन्टरले सांगीतिक र सांस्कृतिक कार्यक्रमसहित यो दिवस मनाएको छ। संस्थाले विगतमा विभिन्न संघसंस्थाहरु मिलेर संयुक्तरुपमा दिवस मनाउने प्रचलन भएपनि यस वर्ष सामूहिक कार्यक्रम नभए पनि आफ्नै पहलमा कार्यक्रम आयोजना गरेको प्रबन्ध निर्देशक बिनित जोजिजूले जानकारी दिए।

कार्यक्रमको मुख्य आकर्षण गीतारवादक अमीत गुरुङलाई सम्मान गरिएको थियो। सिम्पानी निवासी गुरुङ सांगीतिक क्षेत्रमा दुई दशकभन्दा बढी क्रियाशील छन्। कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले दोसल्ला, माला र सम्मानपत्र प्रदान गरी उनको संगीतमा योगदानको कदर गरे। उनले विश्व संगीत दिवसको महत्वमाथि प्रकाश पार्दै पोखरा महानगरपालिकालाई सांगीतिक कार्यक्रम मार्फत पोखराको चिनारी फैलाउन सुझाव पनि दिए।

कार्यक्रममा पोखरा–११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, सांगीतिक कलाकार संघका पूर्वअध्यक्ष सुनिल थापा, प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति पद्मराज ढकाल लगायतले मन्तव्य राखे। शास्त्रीय, भक्ति संगीत, सुगम, आधुनिक र लोकसंगीतका साथसाथै सांगीतिक धून र लाइभ ब्याण्ड प्रस्तुत गरिएको थियो। साथै, विभिन्न नेवारी नृत्य तथा लोकआधुनिक नृत्यका कार्यक्रमले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्यो।

कार्यक्रम सञ्चालन पोखरा सांगीतिक कलाकार संघका सचिव एमडी काफ्ले र संयोजक सानु जोजिजूले संयुक्तरुपमा गरेका थिए भने संस्थाका प्रबन्ध निर्देशक बिनित जोजिजूको अध्यक्षतामा सम्पन्न भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0