पोखरा, १० असार। पोखरा नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा शनिबार आयोजित विज्ञान हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगितामा गोरखाको वल्ड क्यापिटल स्कुलका विद्यार्थीहरूले दुबै विधामा प्रथम स्थान हासिल गरेका छन्। विद्यालयले ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ अन्तर्गत आयोजना गरेको प्रतियोगितामा देशका विभिन्न जिल्लाका विद्यालय सहभागी बनेका थिए।
विज्ञान हाजिरीजवाफ प्रतियोगितामा ५० टिम सहभागी थिए। वल्ड क्यापिटल स्कुलका प्रसिद्धिका अर्याल, विशेष महरट्ठा र ऋचा मरहट्ठाको समूहले उत्कृष्ट प्रदर्शन गर्दै २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे। दोश्रो स्थान पोखराको भास्कर मेमोरियल स्कुल र वेष्ट प्वाइन्ट स्कुलको संयुक्त समूहले हासिल गर्दै १५ हजार नगद प्राप्त ग¥यो भने अमरसिंह नमूना माविको समूह तेश्रो हुँदै १० हजार रुपैयाँ पुरस्कार जित्यो। चौथो स्थानमा गण्डकी बोर्डिङ स्कूल र शिशु निकेतनका विद्यार्थी परेका थिए।
वक्तृत्वकला प्रतियोगितामा ‘प्रतिभा पलायन र यसले पारेको प्रभाव’ शीर्षकमा सहभागी २१ जना विद्यार्थीले विचार व्यक्त गरेका थिए। निर्णायक जीवनसागर भण्डारी, कमल कोइराला र डोलराज अर्यालको मूल्यांकनमा गोरखाकै वल्ड क्यापिटल स्कुलकी प्रसिद्धिका अर्यालले पुनः प्रथम स्थान हात पारिन्। उनले ७ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरिन्। दोश्रो स्थान लमजुङको कुशुमाकर माविका सचित घिमिरेले प्राप्त गर्दै ५ हजार रुपैयाँ प्राप्त गरे भने तेस्रो पोखराको बालोदय बोर्डिङ स्कुलकी एलिशा भुषाल भइन्। स्याङजाको चण्डिका माविकी दिक्षा क्षेत्रीले सान्त्वना पुरस्कारस्वरूप एक हजार नगद पाएकी छन्।
प्रतियोगिताका संयोजक रामप्रसाद सुवेदी र डा. बोधराज ढकालले यस्ता प्रतियोगिताले विद्यार्थीको ज्ञान, आत्मविश्वास र प्रस्तुतीकरण क्षमतालाई अभिवृद्धि गर्ने जनाएका छन्। विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाका अनुसार एसईई दिएर बसेका विद्यार्थीलाई शैक्षिक गतिविधिमा सक्रिय राख्ने उद्देश्यले फेयर आयोजना गरिएको हो। फेयर अन्तर्गत असार १ देखि ३ गतेसम्म विभिन्न खेलकुद कार्यक्रम पनि सम्पन्न गरिएको थियो।
विद्यालयले खुला प्रतियोगिता मार्फत उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई जम्मा दुई लाख पचास हजार रुपैयाँबराबरको पुरस्कार वितरण गर्ने योजना बनाएको छ।
































