पोखरा, १० असार। पोखरा महानगरभित्र संचालनमा रहेका नगर बसहरू प्रदूषणको मुख्य श्रोत बनेका छन् भन्ने जनगुनासोलाई पुष्टि गर्दै शुक्रबार गरिएको परीक्षणमा २१ नगर बसमध्ये १० वटाले प्रदूषण परीक्षणमा फेल भएका छन्। सवारी साधनको प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले यातायात व्यवस्था कार्यालय, सवारी, कास्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा न्युरोडमा बसहरूको प्रदूषण परीक्षण गरेको थियो।
परीक्षणमा फेल भएका सवारीलाई तत्काल मर्मत गरी पुनः परीक्षणका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। कार्यालयका प्रमुख ढाकाप्रसाद शर्माका अनुसार, जबसम्म बसले परीक्षण पास गर्दैन, तबसम्म सडकमा चलाउन अनुमति दिइने छैन। नियम उल्लंघन गरी गाडी चलाएको पाइएमा सम्बन्धित चालक तथा सवारीधनीलाई २ देखि १० हजार रुपैयाँसम्म जरिवाना गरिने चेतावनी दिइएको छ।
यसअघि पनि गत साता गरिएको परीक्षणमा १० बसमध्ये ६ वटाले फेल भएर मर्मतपछि मात्र पास पाएका थिए। चीनबाट ल्याइएको नयाँ प्रविधीयुक्त मेसिन प्रयोग गरी गरिने परीक्षणले अब नियमित रुपमा नगर बसको प्रदूषण अवस्था अनुगमन गरिनेछ।
पछिल्ला दिनमा सामाजिक सञ्जालमा पोखराका नगर बसहरूबाट निस्कने कालो धुवाँप्रति चर्को आलोचना भइरहेको थियो। सार्वजनिक दवाबपछि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री प्रकाशबहादुर केसीको निर्देशनमा परीक्षण अभियान सुरु गरिएको हो। मन्त्री केसी आफैँ शुक्रवार बिहान परीक्षण स्थलमा निरीक्षण गर्न पुगेका थिए।
कार्यालयका मेकानिकल सुपरभाइजर सुमन शर्माका अनुसार, नेपालमा डिजेलचालित सवारी साधनको प्रदूषण मापनका लागि हार्ट्रिज स्मोक युनिट (एचएसयू) प्रयोग गरिन्छ। ६५ एचएसयूभन्दा कम हुने गाडीलाई प्रदूषण परीक्षणमा पास मानिन्छ भने सोभन्दा बढी हुने गाडी फेल हुन्छन्।
प्रदूषण नियन्त्रणका लागि समयमै मर्मत, नियमित परीक्षण र सचेत चालक आवश्यक भएको विज्ञहरूको धारणा छ। यस किसिमको प्रयासले मात्र पोखरालाई धुवाँरहित र स्वच्छ बनाउने अपेक्षा गरिएको छ।

































