पोखरा, १० असार। पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा खाना, खाजा र विविध शीर्षकमा झण्डै साढे दुई करोड रुपैयाँ खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार महानगरले यो अवधिमा २ करोड ३८ लाख ११ हजार ५७८ रुपैयाँ खर्च गरेको देखिएको हो, जसमा अधिकांश खर्च पुष्ट्याइँबिना बिल भरपाई मात्र संलग्न गरिएको उल्लेख छ।

प्रतिवेदन अनुसार महानगरका विभिन्न महाशाखा, वडा कार्यालयहरू र कार्यक्रमहरूका क्रममा पोखराका होटलहरूमा आयोजना गरिएका कार्यक्रमका नाममा यस्तो खर्च भएको हो। तर, खर्चका प्रमाण कागजी बिलमा सीमित रहेकाले खर्चको औचित्यमाथि गम्भीर प्रश्न उठेको छ। महालेखा परीक्षकको कार्यालयले अघिल्ला वर्षहरूमा पनि पोखरा महानगरमा यस्ता खर्चमा लापरवाही भएको औंल्याउँदै आएको थियो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार आन्तरिक आम्दानीको दायराभित्र रही, औचित्यका आधारमा मात्रै यस्ता खर्च गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, महानगरले यो व्यवस्था विपरीत खर्च गरेको र खर्च पुष्ट्याइँ गर्नुपर्ने दस्तावेज नराखेको देखिएको छ।

अघिल्लो वर्षको तुलनामा चालु वर्षमा खाना–खाजामा खर्च अझ बढेको हो। आर्थिक वर्ष २०७९/८० मा १ करोड ९९ लाख ७२ हजार रुपैयाँ खर्च भएको थियो भने चालु वर्षमा त्यो रकम ३९ लाखले बढेर २ करोड ३८ लाख नाघेको छ। सार्वजनिक खर्चमा देखिएको यस्ता असंगत प्रवृत्तिले पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको सरोकारवालाहरूको धारणा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0